
काठमाडौँ, जेठ २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले वर्तमान सरकारको कदम अलोकतान्त्रिक भएको बताएका छन् । नेपाली कांग्रेस गोरखा नगर समितिको आइतबार आयोजित सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै सरकारले प्रेस काउन्सिल, गुठि विधेयक लगायतका नीति तथा कार्यक्रमहरु लोकतान्त्रिक मुल्य र मान्यताविपरित भएको बताए ।
ओली नेतृत्वको सरकारले नेपाललाई वर्वाद पारेको बताउँदै सरकारविरुद्ध अब सडक आन्दोलन गर्ने बताएका छन् । सरकारले गुठी विधेयकमा उल्लेख गरेका नीतिले नेपालको सांस्कृतिक धरोहरको विनाश गर्ने बताए । उनले मानव अधिकार तथा नागरिक अधिकारकको हनन गरेर निरंकुशता लाँद्न खोजेको बताए ।
लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रतालाई संकुचित बनाएर सरकार अघि बढ्न खोजेको तर प्रमुख प्रतिपक्ष दलको हैसियतले आफु र नेपाली काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
ठूलो परिमाणको आर्थिक चलखेल गरेर बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने तयारी गरिरहेको पनि उनले बताए। ‘देशको सबैभन्दा ठूलो आयोजना विना प्रतिष्पर्धा चिनियाँ कम्पनीलाई जसरी दिन खोजिएको छ यो मिल्दैमिल्दैन’, उनले भने, ‘प्रचलित ऐन, कानूनलाई आँखा चिम्लिएर ५०, ६० बर्षका लागि चिनियाँ कम्पनीलाई दिन खोजिएको छ, यसमा ठूलै आर्थिक चलखेल भएको छ।’
आफ्नो सरकारको पालामा योजना आयोगका तत्कालीन उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको प्राविधिक टिमले नेपालीकै लगानीमा बूढीगण्डकी आयोजना बनाउने बारे अध्ययन गरेको उनले बताए।
भूकम्पले भत्किएको ऐतिहासिक गोरखा दरबार पुनर्निर्माणको कामको कत्तिपनि प्रगति नभएकोप्रति दुख ब्यक्त गर्दै उनले यसका बिषयमा संसदमा कुरा उठाउने पनि उनले बताए।