एकदिवसीय विश्वकप क्रिकेटः शिखर, विराट र रोहित चम्कँदा अस्ट्रेलियालाई फराकिलो लक्ष्य

दियो पोस्ट  

काठमाडौँ, जेठ २६ । एकदिवसीय विश्वकप क्रिकेटको आइतबार भएको खेलमा भारतले सानदार प्रदर्शन गरेको छ । अस्ट्रेलियाविरुद्धको खेलमा भारतका चार ब्याट्सम्यानले नै पुरा खेल सम्हालेका थिए । भारतका लागि शिखर धावन, विराट कोहली, रोहित शर्मा र हार्दिक पाण्डेय चम्कँदा भारतले फराकिलो लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।

टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभर नै खेल्दै ५ विकेटको क्षतिमा ३ सय ५२ रन बनाएको छ । भारतका लागि ओपनिङ ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका शिखर धावन र रोहित शर्माले सानदार प्रस्तुत गरेका छन् । शिखर र रोहितले १ सय ७४ रनको साझेदारी खेलेका छन् । व्यक्तिगत रुपमा शिखरले सतक प्रहार गर्दा रोहितले अर्धशतक बनाउन सफल भएका छन् ।

एक सय ९ बल खेलेका शिखरले १६ चौका प्रहार गर्दै १ सय १७ रन बनाएका छन् भने ७० बल खेलेका रोहितले ३ चौका र १ छक्का हिर्काउँदै ५७ रन बनाए । रोहितको विकेट पछि मैदान प्रवेश गरेका कप्तान विराट कोहलीले पनि व्यक्तिगत ८२ रनको योगदान गरे । उनले ७७ बलमा ४ चौका र २ छक्का हिर्काए । त्यस्तै हार्दिक पाण्डेयले ४८ रन बनाउँदा केएल राहुलले ११ रन बनाउन सफल भए ।

अस्ट्रेलियाका तर्फबाट मार्कस स्टोइन्सले २ विकेट लिँदा प्याट कमिन्स, मिचेल स्टार्क र नाथन कल्टर नाइलले एकएक विकेट लिए । यो समाचार तयार पार्दासम्म अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ । भारतले प्रस्तुत गरेको ३ सय ५३ रन पछ्याउने क्रममा अस्ट्रेलिया तर्फबाट ओपनरको रुपमा डेविड वार्नर र एरोन पिञ्च ब्याटिङमा छन् । भारतीय टोलीबाट भुवनेश्वर कुमार र जस्प्रीत बुमराह बलिङमा रहेका छन् ।