‘अधिकारका लागि सडकमा आएर बोल्न नपाउने लोकतन्त्र हामीलाई चाहिँदैन’: काँग्रेस सांसद पुष्पा भुसाल

दियो पोस्ट  

काठमाडौँ, जेठ २७ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले लोकतान्त्रिक व्यवस्थामा सरकाले जनताको मुखमा बुजो लगाउने काम गरेको आरोप लगाएकी छिन् । सोमबार प्रतिनिधि सभाको वैठकमा बोल्दै सांसद भुसालले गुठियारमाथि सरकारले चरम दमन गरेको तथा रीतिरिवाज र परम्परालाई जोगाउदै अघि बढेको पहिचानलाई संविधान र कानुनको नाम दिएर नामेट गर्न खोजेको समेत आरोप लगाएकी छिन् ।

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको यतिका बर्ष भइसक्दा पनि जनताले भने त्यसको अनुभव गर्न नपाएको उनले बताइन् । जनताले आफ्नो अधिकारको लागि सडकमा आएर बोल्न नपाउने लोकतन्त्र आफुहरुलाई मान्य नहुने समेत बताएकी छिन् । देशको धार्मिक महत्व र सांस्कृतिक पहिचान बोकेका सम्पदाहरुलाई सरकारले संरक्षण गर्नुपर्नेमा संरक्षकहरुमाथि नै धावा बोलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षदलले यस्तो प्रवृत्तीको विरोध गर्ने बताएकी छिन् ।

सत्तापक्षकै मन्त्रीले मण्डलामा आन्दोलनकारी माथि लाठी चार्ज भएको, पानीको फोहरा चलाइएको, मानिसहरु घाइते भएको स्वीकार समेत गरेका थिए । ‘सरकारलाई जनतामाथि दमन गर्ने अधिकार कुन कानुनको कुन धाराले दिन्छ ?’ सत्तापक्षकै मन्त्रीले स्वीकार गरेपछि पुष्पा भुसालले प्रश्न गर्दै गृहमन्त्रीको जवाफको माग गरेकी छिन् । साथै उनले संविधान र कानुुनको नाममा चलिआएको रीतिरिवाज र धार्मिक संरचनामाथि क्षति पुर्याउने कोसिस नगर्न समेत सरकारलाई चेतावनी दिएकी छिन् ।

सिफारिस