बिजेता पर्या समाज : सहयोगको नाममा क्रिश्चियन धर्म प्रचार, सेवाको नाममा ठगीधन्दा !

दियो पोस्ट  

काठमाडौँ । उपत्यकामै विभिन्न संघ÷संस्थाको नाम दिँदै खुलेआम धर्म परिवर्तन गराउने कार्यमा तीब्रता आएको पाइएको छ । चार बर्षअघि गएको विनाशकारी भुकम्पबाट क्षति पुगेको केही जिल्ला र घरवारविहीन भएकाहरुका बालबच्चालाई पढाइदिने भनदै स्थापना गरिएको एक संस्थाले सहयोग संकलन गरी क्रिश्चियन धर्मको प्रचार र धर्म परिवर्तन गराउँदै आएको भेटिएको हो । प्राप्त विवरणअनुसार गोकर्णेश्वर नगरपालिका–१ साबिकको नयाँपाटी गाविस वडा नं. २ हालको गोकर्णेश्वर नगरपालिका वडा नं १ मा रहेको विजेता पर्या समाज नामको संस्थाले सो अवैध कार्य गर्दै आएको भेटिएको हो ।

सो समाजको नाममबाट अन्य धर्म मान्नेहरुलाई विभिन्न किसिमका प्रलोभन देखाएर क्रिश्चियन धर्मावलम्वी बन्न प्रेरीत गरिरहेको स्थानीय बासिन्दाको भनाइ छ । सो समाजका अध्यक्ष बद्रीप्रसाद खनाल नाम गरेका ब्यक्तिले विभिन्न प्रलोभन देखाई विपन्न समुदायहरुमा रहेको कमजोरीको फाइदा उठाउँदै र भुकम्पबाट क्षति पुगेका परिवारलाई झुक्याउँदै धर्म परिवर्तन गराउने कार्य गर्दै आएको स्थानीय बासिन्दाहरुको भनाइ रहेको छ ।

संविधानमा व्यवस्था गरिएको नियमलाई बेवास्ता गर्दै अध्यक्ष खनालले आफ्नो स्वार्थ पुरा गर्नकै लागि धर्म परिवर्तनमा संलग्न भएको पाइएको छ । नेपालको संविधान धारा २६ ल धर्म परिवर्तनलाई निषेध गरेको छ । एकातर्फ नेपालको संविधानले समेत निषेध गरेको धर्म परिवर्तनलाई समाजका अध्यक्ष खनालले भने खुला रुपमा गर्दै आएका छन् ।

उनले भुकम्पबाट घरपरिवारविहीनदेखि निधन भई पिडित बनेका हरुको नामबाट विभिन्न संघ संस्थाको नाममा ठगीधन्दा चलाउ्ँदै आएका छन् । काठमाडौँ नजिकै रहेको गोकर्णेश्वर नगरपालिका–१ साबिकको नयाँपाटी गाविस वडा २ हालको गोकर्णेश्वर नगरपालिका वडा नं.१ ऐतिहासिक सुन्दरीजल बन्दी गृह (हाल बीपी संग्राहलय) मुनिको रुप्सेटारका खनालले भुकम्पपीडितको नाममा करोडौँ रुपैयाको अवैध धन्दा गरिएको भेटिएको छ ।

विगतमा भुमाफियाको रुपममा सार्वजनिक जग्गा समेत व्यक्तिको नाममा दर्ता गरेर प्लटिङ गरि बेचेर करोडौँ कुम्ल्याएका खनालले आफ्नो जग्गामा बनेका टहरामा विभिन्न जिल्लाबाट आएका भूकम्पपीडित राखेर भाडा लिँदै धर्म प्रचारका रुपमा प्रयोग गरिएको भेटिएको छ । ती टहरामा आफूले भूकम्पपीडित राखेर सामाजिक सेवाको काम गरेको भन्दै उनले विदेशी संस्थासँग मासिकरुपमा रकम संकलन गर्दै आएका छन् ।

उनले संकलन गरेको रकम कहाँ कसरी खर्च गरेका छन् भन्ने बारे कुनै पनि विवरण देखाउन चाहेनन् । विजेत एकता कम्युनिटी (विजेता पर्या समाज) का नाममा उनले सामाजिक सेवा गरेको भन्दै अवैधरुपमा कमाई खाने भाँडो बनाएको स्थानीय बासिन्दाहरुको आरोप रहेको छ ।

धर्मका विषयमा के भन्छ संविधानले ?


नेपालको संविधान भाग ३ मौलिक हक र कर्तव्यको दफा २६ उपदफा ३ मा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकुल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्म खलल पार्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ भनिएको छ । यसरी धर्मपरिवर्तन गरेको पाइएका पाँच बर्षको कारावास सजाय र ५० हजार जरिवाना गरिने व्यवस्था कानुनले गरेको छ । आर्थिक दैनिकबाट