उत्तर कोरियाः सयौँ मान्छेलाई मृत्युदण्ड दिइएका ठाउँको पहिचान

उत्तर कोरियाः सयौँ मान्छेलाई मृत्युदण्ड दिइएका ठाउँको पहिचान

उत्तर कोरियामा त्यहाँको सरकारले सार्वजनिक रूपमा सर्वसाधारणलाई मृत्युदण्ड दिएका ३१८ वटा स्थानको पहिचान गरिएको एउटा दक्षिण कोरियाली गैरसरकारी संस्थाले जनाएको छ।

ट्रान्जिश्नल जस्टिस वर्किङ ग्रुपले आफ्नो प्रतिवेदनका लागि चार वर्षको अवधिमा ६१० जना उत्तर कोरियाली भगौडाहरूसँग अन्तर्वार्ता गरेको थियो।

गाई चोरी गरेकोदेखि दक्षिण कोरियाली टेलिभिजन हेरेसम्मको आरोपमा मृत्युदण्ड दिइएका दशकौँका घटना प्रतिवेदनमा समेटिएका छन्।

सो अधिकारवादी समूहका अनुसार नदी किनार, खेत, विद्यालय र खेलकुद मैदानहरूमा मान्छेहरूलाई मृत्युदण्ड दिइएको पाइएको छ।

बन्दीगृह

मङ्गलवार सार्वजनिक ‘म्यापिङ द फेट अफ द डेड’ नामक प्रतिवेदनमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको हेर्न एक हजार वा सोभन्दा बढी सङ्ख्यामा सर्वसाधारण जम्मा हुने गरेको उल्लेख छ।

मृत्युदण्ड दिइने मान्छेका परिवारका सदस्यलाई पनि कतिपय घटना हेर्न बाध्य पारिएको प्रतिवेदनमा आरोप लगाइएको छ।

मानिसहरूमा बयान अनुसार सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको घटना हेर्ने सबैभन्दा कान्छो सात वर्षका छन्।

जेल र श्रम शिविरजस्ता बन्दीगृहमा पनि केही मृत्युदण्डका घटना हुने गरेका छन्।

उत्तर कोरिया

त्यस्ता बन्दीगृहमा राजनीतिक अपराध गरेको अभियोग लगाइएका मानिसहरूलाई खानी उत्खनन र रुख कटानीजस्ता शारीरिक श्रम गर्न बाध्य पारिन्छ।

एकजना भगौडाले सन् २००० को शुरूवाततिर एउटा श्रम शिविरमा तीनजना महिलाको हत्या गरिएको दृश्य हेर्न ८० जना कैदीलाई कसरी बाध्य पारिएको थियो भन्नेबारे बताएका छन्।

ती महिलाहरू भागेर चीन जाने प्रयत्न गरिरहेका थिए।

उनीहरूले बताए अनुसार सुरक्षा मामिलासम्बन्धी मन्त्रालयका एक अधिकारीले भीडलाई भने, “तिमीहरूलाई पनि यस्तो हुन सक्छ।”

प्रतिवेदनले भनेको छ, “डर पैदा गराउने र सत्ताले मन नपराउने कुरा गर्नबाट नागरिकलाई निरुत्साहित गर्ने एउटा महत्त्वपूर्ण तरिका मृत्युदण्ड हुने गरेको छ।”

गोली हान्ने र झुण्ड्याउने समूह

भगौडाहरूका अनुसार अधिकांश मृत्युदण्ड गोली हानेर दिइन्छ। प्रायः तीन जनाले आरोपित व्यक्तिलाई तीन-तीन राउण्ड गोली प्रहार गर्छन्।

अन्तर्वार्ता दिएका केही मानिसहरूले बताए अनुसार मृत्युदण्ड दिनेहरू कहिलेकाहीँ रक्सी खाएकोजस्तो देखिन्थे।

एक जनाले भने, “किनभने हत्या भावनात्मक रूपमा गरिने एउटा कठिन काम हो।”

एउटा सानो समूहलाई सार्वजनिक रूपमा मारिएको पनि बताइएको छ।

Trending News