ओम अस्पतालमा तनावः शान्तिपुर्ण तवरले न्याय माग्दा प्रहरीको लाठि चार्ज !

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ ३१ । राजधानीको चाबाहिलमा रहेको ओम अस्पतालमा प्रहरीले लाठीचार्ज गरेको छ । अस्पतालको लापरवाहीका कारण एक विरामीको मृत्यु भएपछि आन्दोलित भिडमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० घर भएकी ५० बर्षिया रामप्यारी शुक्रबार हिँड्दै अस्पताल पुगेकी थिइन् । पित्तथैलीको अपरेशन गर्दा आन्द्रा काटिएपछि उनको मृत्यु भएको थियो । अस्पतालले अपरेशन गरेको ६ दिन बितेपछि उनको मृत्यु भएको जानकारी परिवारलाई गराएको थियो ।

अस्पतालले चरम लापरवाही गरेको कारण सामान्य विरामीको पनि मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले क्षतिपुर्तीको माग राख्दै विरोध गरेका थिए । शुक्रबार शान्तिपुर्ण तरिकाले क्षतिपुर्तीको माग गर्दै अस्पताल परिसरमा बसिरहेका आफन्तमाथि जनपद प्रहरी र शसस्त्र प्रहरीले लाठी चार्ज गर्दै भगाएका हुन् । सय जना भन्दा नेपाल प्रहरी र शसस्त्र प्रहरी आएर आफुहरुमाथि दमन गरेको मृतकका आफन्त खड्ग श्रेष्ठले दियोपोस्ट लाई बताए । उनले आफुहरुले न्याय मागेको तर अस्पताल प्रशासनको आग्रहमा प्रहरीले अनावश्यक धरपकड गरेको बताए ।

प्रहरीको लाठिचार्जबाट तीनजना घाइते भएको श्रेष्ठले बताए । प्रहरी लगाएर आफुहरुलाई चरम अन्याय गरेको खड्गले बताए । उनले प्रहरी प्रशासन समेत अस्पतालसंग मिलेको आरोप लगाएका छन् । न्याय माग्दा लाठि चार्ज गरेर अस्पतालले आफुलाई थप गलत सावित गरेको भन्दै न्याय नपाउँदा सम्म पछि नहट्ने आफन्तहरु बताउँछन् ।

सम्बन्धित खबर

सिफारिस