काठमाडौँ, असार १ । आइसीसी एकदिवसिय विश्वकपमा आइतबार निकै नै प्रतिक्षा गरिएको खेल हुँदै छ । सिरिजको २२ औँ खेलमा दुई ठुला प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच खेल शुरु भएको छ । इंग्ल्याण्डको म्यानचेस्टरमा भएको खेलमा टस जितेर पाकिस्तान फिल्डिङमा उत्रिएको छ ।
आइतबारको खेलमा भारतका सुप्रसिद्ध खेलाडी शिखर धवन मैदानबाहिर बसेका छन् । उनको हातको औँलामा चोट लागेपछि उनलाई टोलीले आराम दिएको हो । शिखर मैदानबाहिर हुँदा भारतीय क्रिकेट टोलीको क्षमतामा केही ह्रास भने पक्कै आउने देखिएको छ । यद्यपी विराट कोहली, एमएस धोनी, हार्दिक पाण्डे र कुलदीप यादव जम्न सके शिखरको अनुपस्थितीको प्रभाव नपर्न पनि सक्ने अनुमान छ ।
ब्याटिङको निम्तो पाएको भारतले रोहित शर्मा र केएल राहुललाई ओपनरको रुपमा मैदान भित्र्याएको छ । जारि खेलमा यी दुई ब्याट्सम्यान निकै नै सतर्कताका साथ उत्कृष्ठ साझेदारी निभाइरहेका छन् । खेलको १२ औँ ओभर सकिँदा टोलीले ७९ रन बनाएको छ । यसबिचमा रोहित शर्माले व्यक्तिगत अर्धशतक बनाइसकेका छन् भने केएल राहुलले ३७ रन आफ्नो नाममा जोडिसकेका छन् ।

भारत पाकिस्तानको खेलमा अथक प्रयासको बावजुद पनि कैयौँ पटक पाकिस्तान निराश भइसकेको छ । कैयौँ पटकको हारलाई जितमा बदल्नका लागि पाकिस्तान निकै चोटिलो बलिङ गरिरहेको छ । शुरुवातमा इमाद वाशिम र शदब खानले बलिङ गरिरहेका छन् । वाशिमले ३ ओभर बलिङ गरिसक्दा खानले भने १ ओभर मात्र गरे ।
भारतको तर्फबाट तेश्रो विकेटको रुपमा कप्तान विराट कोहली मैदान प्रवेश गर्ने छन् भने बलरमा पाकिस्तानले मोहम्मद अमिर जाने छन् । यसअघिको खेलमा अमिरले ब्यक्तिगत ५ विकेट लिएका थिए । भारतका पुर्वकप्तान धोनी भने पाँचौ नम्बरका ब्याट्सम्यान हुन् । जारि खेलमा दुबै टिम दबावमा रहनेछन् ।