काठमाडौँ, असार १ । महानगरिय प्रहरी काठमाडौँले एकैपटकमा ८२ जना लुटेराहरुलाई सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक यातायातमा पाकेट मार्ने र लुटपाट गर्ने ७८ जना पुरुष र ४ महिला गरि ८२ जनाको गिरोह एकैपटकमा सार्वजनिक गरेको हो ।
गत जेठ १ देखि ३२ गते सम्मको अवधीमा महानगरिय प्रहरीले संचालन गरेको पाकेटमारी बिरुद्धको विशेष अभियानको क्रममा लुटेराहरुलाई पक्राउ गरिएको हो । प्रहरीले यातायात व्यवसायीहरुसंग सहकार्य गरि उपत्यकामा संचालन हुने सार्वजनिक यातायातका साधनहरुमा सादा पोशाकका प्रहरीहरु खटाएको थियो ।

लुटेराहरु २ देखि ६ जना सम्मको समुह बनाई सार्वजनिक सवारी साधनमा चढ्ने र ठेलमठेलको अवस्था बनाएर सांकेतिक भाषमा कुरा गर्दै लुट्ने गरेको पाइएको छ । धेरै पाकेटमारहरुलाई बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरुको साथबाट पकेट तथा झोलामा रहेका नगद, मोवाईल र गहना चोर्दाचोर्दे र पाकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
पाकेटमारहरुले पैसा भएको ब्यक्ति पत्ता लगाएर अगाडी पछाडीबाट घेराबन्दी बनाएर एकअर्कामा ठेल्ने र मौका छोपेर लुट्ने गरेको पत्ता लागेको छ । उनिहरुमोबाइल, सुनचाँदी र गरगहना लुटेर पालैपालो बसबाट झरेर भाग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ गरिएका ८२ जनाबाट करिब ६ लाख रकम बरामद गरिएको छ । प्रहरीले सो रकम जसबाट लुटिएको हो उसैलाई फिर्ता गरेको बताएको छ । प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।