
काठमाडौँ, असार १ । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तान विरुद्ध ३ सय ३७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनाएको हो ।
आइतबारको खेलमा भारतका उत्कृष्ठ ब्याट्सम्यान शिखर धवन मैदानबाहिर भएपनि उनको अनुपस्थितीको महशुस टिमले गर्न पाएन । मैदानमा शिखरको अभाव रोहितले पुरा गरे । विस्फोटक ब्याटिङ गर्दै रोहित शर्माले शतक नघाए । १ सय १३ बल खेलेका रोहितले १४ चौका र तीन छक्का हिर्काउँदै १ सय ४० रन बनाए । त्यस्तै कप्तान विराट कोहलीले ६५ बलमा ७ चौका प्रहार गरि अर्धशतक कटाउँदै ७७ रन बनाए ।

भारतका पुर्वकप्तान महेन्द्र सिंह धोनी १ रनमै आउट भए । पाकिस्तानका मोहम्मद आमिरको बलिङमा सर्फराज अहमदले क्याच गरेपछि धोनी पवेलियन फर्केका थिए । टोलीमा ओपनरको रुपमा मैदान प्रवेश गरेका केएल राहुलले ५७ रनको योगदान गर्दा हार्दिक पाण्डेयले २६ रन बनाए ।

पाकिस्तानका लागि तीब्र गतिका बलर मोहम्मद अमिरले सर्वाधिक ३ विकेट लिए । त्यस्तै हसन अलि र वहाव रियाजले एक एक विकेट लिए । खेलको ४६ औँ ओभर चलिरहँदा पानी परेपछि केही समय खेल स्थगित गरिएको थियो ।