
काठमाडौं, असार १० । २४ वर्षीय रविन भण्डारी छाती दुख्ने समस्या भएपछि काठमाडौंस्थित एक अस्पतालमा पुगे । उनलाई ‘चेस्ट पेन’ भएको भन्दै चिकित्सकले औषधि खान सल्लाह दिए । उनले चिकित्सककै सल्लाहअनुसार औषधि सेवन गरे । तर, सन्चो भएन । त्यसपछि उनी अर्को अस्पतालमा गए । त्यहाँ छातीको एक्सरे गराए । ईसीजी पनि गराए । चिकित्सकले एक महिनापछि आउनु भन्दै केही औषधि पनि दिए ।
छातीको दाहिने भाग थेग्नै नसक्ने गरी दुखेपछि २७ वर्षीय सीताराम केसी कीर्तिपुरस्थित एक अस्पताल पुगे । त्यहाँ उनलाई डिप्रेसनको लक्षण भएको बताइयो । केही औषधि खान भनेर सूची पनि दिइयो । सो अस्पतालका चिकित्सकप्रति विश्वास नलागेपछि उनी अर्काे अस्पताल पुगे । त्यहाँ उनलाई छातीको नसामा समस्या रहेको बताइयो ।
अहिले अधिकांश बिरामीले एउटै अस्पताल र चिकित्सकको स्वास्थ्य जाँचको विश्वसनीयतामाथि प्रश्न उठाउन थालेका छन् । एउटा चिकित्सकलाई देखाएको केही समयभित्रै बिरामी अर्काे चिकित्सकलाई पनि देखाउन पुग्ने गरेका छन् । तर, चिकित्सकले फरक फरक रोग र फरक फरक औषधि दिँदा बिरामी नै रनभुल्लमा पर्ने गरेका छन् ।
चिकित्सकपिच्छे औषधि फरक फरक उपलब्ध हुँदा बिरामीले जथाभावी औषधि सेवन गर्ने गरेको पाइएको छ ।
भण्डारी भन्छन्, ‘स्वास्थ्य जाँचपछि चिकित्सकले केही भएको छैन । यति औषधि खाएर एक महिनापछि आउनुहोस्, सन्चो हुन्छ भने । तर, अर्काे अस्पतालका चिकित्सकले दिएका औषधि फरक फरक छन् । कुन औषधि खाने–नखाने दोधारमा छु ।’
चिकित्सकपिच्छे फरक फरक औषधि दिइने भएकाले बिरामी थरीथरीका औषधि सेवन गर्ने गरेको देखिएको छ । डायग्नोसिस नबन्दा रोगको पहिचान नहुने भन्दै चिकित्सकको सल्लाह फरक फरक हुने गरेको पाइएको छ । बिरामीको ‘इभिडियन्स बेस डायग्नोसिस’ नहुँदा विभिन्न उपचार विधि प्रयोग गर्न बाध्य भएकोे चिकित्सक बताउँछन् ।
–रोग निदानका लागि पर्याप्त प्रविधिको अभाव
–डायग्नोसिस नबन्दा रोग पहिचानमा समस्या
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले मेडिकल विज्ञान कला भएको भन्दै चिकित्सकले अनुभव, सिप र ज्ञानको कलात्मक ढंग प्रयोग गर्ने गरेको बताए । उनले भने, ‘रोगका लक्षण धेरै हुन सक्छन् । ज्वरो आउनु पनि धेरै रोगको लक्षण हुन सक्छ । बिरामीको स्ट्याटस हेर्नुपर्छ । सिम्टमको आधारमा रोगको निदान हुने हो ।’
सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले रोग निदानका लागि पर्याप्त प्रविधि नहुँदा समस्या भएको बताए । उनले चिकित्सकले ज्ञानको आधारमा उपचार पद्धतिमा खटिने भन्दै डायग्नोसिसका लागि पर्याप्त प्रविधि आवश्यक रहेको बताए । डा पाण्डेले भने, ‘चिकित्सकको ज्ञान नै फरक फरक हुन्छ । कोही नेपालमा त कोही चीनमा पढेर आएका हुन्छन् । गुरु नै फरक फरक भएपछि बिरामी जाँच्ने प्रक्रिया पनि फरक हुने भइहाल्यो ।’
राजधानी दैनिकबाट