काठमाडौं । सरकारले कोभिड अस्पताल घोषणा गरेको वीर अस्पतालको सिइओ अर्थात प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम गम्भिर आर्थिक अपराधमा मुछिएको पुष्टि भएको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औं तहका गौतमलाई प्रमुख प्रशासकिय अधिकारीमा नियुक्त गरिएको हो ।
वीर अस्पतालका कर्मचारीहरुले वीर अस्पताललाई कोभिड १९ युनिफाइड अस्पताल बनाउँदा न्याम्स ऐन विपरीत बनाएको र किर्ते गरेको अभियोगमा अदालतबाट सजाए पाएकालाई अस्पताल प्रमुख बनाएको भन्दै न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्रीको कार्यालय, कोभिड १९ निर्देशन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सम्पत्ति सुद्दिकरण विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाका भ्रष्ट र किर्ते मुद्दामा सजाय पाएका डा. गौतमलाई अस्पताल प्रमुखमा नियुक्ति गरेकोप्रति वीर अस्पतलका कर्मचारीदेखि पदाधिकारीसम्म सन्तुष्ट नभएको गुनासो गरिरहेका छन् । वीर र नयाँ सर्जीकल भवनमा खरिद हुने ४ अर्बको उपकरण र दुवाकोट परियोजनाको डिपिआरको बजेटमाथि आँखा गाडेरै मन्त्रालयले बिवादित डा. गौतमलाई अध्यादेश अनुसार भन्दै अस्पताल प्रमुखमा नियुक्ति गरेको छ ।
डा. गौतम चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज तथा बिभिन्न अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका र किर्ते अभियोग प्रमाणित भएका चिकित्सक हुन् । नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्दा पनि विवादा परेपछि डा. गौतमले राजिनामा दिएका थिए ।
स्वास्थ्य सेवा ऐनविपरीत चितवन मेडिकल कलेज, मौलाकालिका अस्पताल र ओम अस्पताल लगायतमा शेयर लगानी गरेको र दरबन्दी रहेको अस्पताल छाडेर चितवन र काठमाडौंमा काम गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा स्वास्थ्य मन्त्रालयले नै डा. गौतमलाई कारबाही समेत गरेको थियो ।
गौतमले गोरखा जिल्ला अस्पतालमा १०औं तहमा कार्यरत रहँदा उक्त लगानी गरेका थिए । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, १(क) अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न पाइँदैन ।
यसरी गैरकानुनी रुपमा चितवन मेडिकल कलेजमा लगानी गरेका गौतमले त्यहाँ फेरि अर्को काण्ड मच्चाए । उनले रामदेवमीर मन्दिर भवन गुण्जरोड पालनपुर भारतका निलेश कुमार दिलसुखभाई अग्रवाललाई ३२३२३७० कित्ता सेयर विक्री गरी सिएमसीको अध्यक्ष आफू नै भएको दावी गर्दै शेयर वापतको रकम आफ्नो ऐभरेष्ट बैकको खातामा जम्मा गर्न लगाएका थिए । सोही विषयमा चितवन मेडिकल कलेजले काठमाडौ जिल्ला अदालतमा २०७० मा किर्ते जालसाज मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा जिल्ला न्यायाधीश विण्णुप्रसाद अर्यालको एकल इजलाशले डा. गौतमलाई किर्ते जालसाजी गरेको ठहर गर्दे तीन हजार जरिवाना गरेको थियो ।
त्यसो त डा. गौतमले चितवन मेडिकल कलेजको सञ्चालक अध्यक्ष नरहेको अवस्थामा अध्यक्ष हुँ भन्दै सेयर खरिद सम्झौतामार्फत सेयर खरिद बिक्री गरी विदेशी लगानी स्वीकृत गराएर किर्ते जालसाजी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिनले देखाएको थियो ।
यसरी कानून विपरित विभिन्न स्वास्थ्य संस्थामा लगानी गरेको विषयले विवदमा पर्दा काउन्सिको अध्यक्षबाट राजिनामा दिएका र अदालतले जरिवाना तिराएका व्यक्तिलाई मुलुककै सबैभन्दा ठूलो अस्पतालको प्रमुख बनाएको भन्दै वीर अस्पतालका कर्मचारीहरुले मन्त्रालयको उक्त निर्णय सच्याउन माग गरेका छन् ।
कोभिड संक्रमितको उपचारका लागि नवनिर्मित सर्जिकल भवनमा २५० बेड तयारी गर्दा चौधरी समुहले दिएको आक्सिजन मेसिन जडान गर्दे मन्त्रालयले हस्तक्षेप गर्नुमा पनि डा. गौतमले नै आर्थिक चलखेल गरेको वीरका कर्मचारीहरुको आरोप छ । पटक–पटक विवदमा तानिएपनि चाकडी र चाप्लुसीकै भरमा वीरको प्रमुख हुने सौभाग्य पाएका डा. गौतले न्याम्सका पदाधिकारीदेखि वीरका कर्मचारीहरुलाई आफ्नो विरोध गर्नेलाई अध्यादेश अनुसार कारबाही गरिदिने भन्दै धम्क्याउन थालेको समेत उजुरीमा उल्लेख छ ।
डा. गौतम अहिले अस्पतालमा के सामानको आवश्यक छ भन्दा पनि आफूनिकटका ब्यापारीहरु बोलाएर उनीहरुसँग भएको उपकरणको लिस्ट लिंदै सोही अनुसारको स्पेफिकेशन बनाएर तत्काल ६० करोड बराबरको टेन्डरको तयारी गरिरहेको समेत उजुरीमा उल्लेख छ । डा. गौतम अहिले आफ्नो लगानी रहेको म्याक्सिम इन्कर्पोरेशन ट्रेडसमार्फत आफ्नो ब्यापार बढाउन तल्लिन रहेको वीरका कर्मचारीहरुको आरोप छ ।
म्याक्सिम पर्वतका सुन्दर भुषालको नाममा छ । डा.गौतमको घर पनि राम्जा देउराली–२ पर्वत नै हो । यसमा डा. जागेश्वर गौतमकै लगानी रहेको स्रोतको दावी छ । सिसिएमसीमा नेतृत्व गर्न असफल भएपछि उपप्रधानमन्त्रीबाट हालै मात्रै हटाइएका ईश्वरको पोखरलेको छोराको समेत उक्त कम्पनिमा अदृष्य लगानी रहेको स्रोतले बतायो ।
यसअघि डा. गौतमकै दवावमा काठमाडौ महानगरपालिकाले वीर अस्पताललाई दिने १५ वटा भेन्टीलेटर र ५० बटा मनिटर पनि जेठ ३ गते न्याम्स कार्यकारीबाट सिधै म्याक्सिमसँग किन्ने निर्णय गराएका थिए । तर, उक्त कुरा विवादित भएपछि वीर अस्पतालले जेठ ९ गते म्याक्सिमलाई नै मिल्ने गरी IFB No MNAMqmNCB÷Er|77/78/21 मा टेन्डर आह्वान गरेको छ ।
त्यतिमात्र होइन गौतमले आफूसँग नभएको अधिकार प्रयोग गरी १४ गते बिवादित रुपमा उपनिर्देशकको समेत नियुक्ति गरिसकेका छन् । ट्रमा सेन्टरका बिवादित र कनिष्ठ डा. नविन पोखरेललाई उनले उपनिर्देशकमा नियुक्त गरेका हुन । पोखरेल तिनै डाक्टर हुन्, जसले इलाट भन्ने तालिम केन्द्र खोलेर स्वास्थ्यकर्मी र नर्सिंगलाई ओटी र ऐनेस्थेसिया साहायक तालिम ट्रमा सेन्टरमै गराएर उनीहरूसँग प्रतिमहिना ४००० लिने र अस्पताललाई एक पैसा पनि बुझाउँदैनन् । उनी ट्रमा सेन्टरको खरिद प्रमुख समेत हुन् ।
उनले खरिदमा हुँदा वराल थर गरेका त्रिपुरेश्वरका ब्यापारीसँग मिलेर आर्थिक चलखेल गरी गुण्तरहिन ऐम्बुलेस, डेक्सा मेसिन, सि आर्म, माइक्रोस्कोपलगायतको टेन्डर सदर गरेका थिए ।
सो खरीदको सम्बन्धमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले छानबीन समिति नै बनाएर छानविन गरी उनीहरुले भ्रष्टाचार गरेको भन्दै आवश्यक छानवीनका लागि प्रधानमन्त्री कार्यालयदेखि सतर्कता केन्द्रसम्म जानकारी गराएको छ । त्यसैले पनि अब भने भ्रष्टाचारमा लिप्त गौतम र पखेरेलको जोडी जम्ने वीरका पदाधिकारीहरु बताउँछन् ।
वीर अस्पतालका कर्मचारीहरुले प्रधानमन्त्रीको कार्यालय, कोभिड १९ निर्देशन समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सम्पत्ति सुद्दिकरण विभाग र राष्ट्रिय सतर्कता केन्द्रमा दायर गरेको उजुरीमा डा. गौतमको किर्ते काण्डमा काठमाडौं जिल्ला अदालतको आदेश, सर्तकताको कारबाही लगायत विषयमा पुन छानबीन गर्न माग गरिएको छ ।