पोखरा, २८ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली विजयी हुने पक्का भएको छ ।
नेपालीले आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसद सहित पुगेका हुन् । उनलाई मुख्यमन्त्री बनाउन चर्चित पात्रको भूमिका निभाएका स्वतन्त्र सांसद दिपक मनाङ्गे समेत पुगेका छन् ।
विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा नै भंग गर्ने तयारी थालेको मनाङगेले सार्वजनिक गरेका थिए ।
गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका हुन् ।
नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन प्राप्त भएको छ ।