काठमाडौं, २९ जेठ । नर्भिक अस्पतालमा उपचार अभिनेत्री निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषले पनि सहयोग गर्ने भएको छ ।
कोषले उनलाई नगद ५१ हजार रुपैयाँ सहयोग गर्ने चलचित्र कलाकार संघका अध्यक्ष तथा कोषका सदस्य रवीन्द्र खड्काले जानकारी दिए ।
‘कोषले उनको परिवारलाई आइतबार सहयोग रकम उपलब्ध गराउनेछ,’ खड्काले थपे ।
कोषको अलवा अभिनेत्री करिस्मा मानन्धरले पनि उनको परिवारलाई नगद २५ हजार सहयोग दिँदैछिन् ।
मानन्धरले शनिबार निशाको बुबालाई उक्त रकम प्रदान गर्ने खड्काले जानकारी दिए । जसको समन्वय कलाकार संघले नै गरेको छ ।
करिब तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको बिहीबारबाट नर्भिक अस्पतालले निःशुल्क उपचार थालेको हो ।
समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेर निःशुल्क उपचारको व्यवस्था गरेकी हुन् ।