नवलपरासी पूर्वमा बाढीले निर्माणाधीन पुल बगायो

दियो पोस्ट  

काठमाडौं, ३ असार । सोमबार साँझदेखि परेको अविरल वर्षापछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौदीखोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएको छ ।

जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो ।

बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिए ।

प्रदेश सरकारको रु तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार सो पुलको आज बिहीबार ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो ।

खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए ।

यसैबीच अविलरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ ।

बौदीकाली–४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए।

बर्सातका कारण बौदीकाली क्षेत्रको जमीनको केही भाग भासिएको छ भने घिरिङतर्फ पुलको सपोर्टिङ ग्याबिन बगाएको छ ।

पुलमा जोखिम बढेपछि यस क्षेत्र भएर हिँड्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको सुवेदीले बताए ।