खाना बनाउने तालिमले ‘दृष्टिबिहिन’को जीवनमा परिवर्तन, परिवारमा छायो खुसी

खाना बनाउने तालिमले ‘दृष्टिबिहिन’को जीवनमा परिवर्तन, परिवारमा छायो खुसी

रीता बुढाथोकी


काठमाडौँ । काठमाडौँमा बस्ने त्रिसा लामा जन्मजात दृष्टिबिहिन हुन । छोरी दृष्टिबिहिन भएपछि दुखी भएकी त्रिसाकी आमा बिना लामाको यतीबेला खुसीको सिमा छैन । कारण– आफ्नी जन्मजात दृष्टिबिहिन छोरीले खाना बनाउन र आफ्नो काम आफै गर्न सक्ने भएकी छिन् । आखाँ नदेख्ने छोरीलाई भान्सामा आगोले पोल्न सक्ने, खाना पोखिने र अन्य दुर्घटना हुन सक्ने डरले उनले छोरीलाई कहिल्यै भान्सामा पठाइनन् ।
तर, हालै ‘साथ नेपाल’ नामक संस्थाले काठमाडौँमा आयोजना गरेको ‘दृष्टिबिहिनका लागि दृष्टिबिहिन’द्वारा दृष्टिबिहिनमैत्री वातावरणमा घरमै बसी खाना बनाउने तालिममा सहभागी भएपछि त्रिसाले खाना बनाउन मात्र सिकिनन् आफ्नो काम समेत आफै गर्न सक्ने भएकी छिन् । यही सिकाईले उनको जीवनमा ठुलो परिवर्तन आएको छ । भोक लागेको बेला परिवारका अन्य सदस्यको भर पर्नु पर्ने वाध्यताको अन्त्य भएको छ । त्यसैले पनि त्रिसाकी आमा यतीबेला खुसी छिन् ।

आफुलाई मन पर्ने खाना आफैले बनाउन पाए पछि त्रिसा पनि फुरुङ्ग छिन् । छोरीले आफै खाना बनाएर सबै परिवारलाई पस्केर दिन थालेपछि यतीबेला उनकी आमा बिना लामा पनि दंग छिन् ।

काठमाडौँकै प्रशिक्षा भट्राई पनि जन्मजात दृष्टिबिहिन नै हुन । तर, उनी पनि तालिममा सहभागी भएपछि आफ्नो काम आफै गर्न सक्ने भएकी छिन् । खाना खाने बेला बाहेक भान्सामा नछिरेकी प्रशिक्षा यतीबेला राम्रोसंग खाना बनाउन सक्छिन् । आफ्नी छोरीको यो सफलताले आमा शिला भट्राइलाई जिवनको सबै भन्दा ठुलो खुसी मिलेको छ । आमाले आफ्नो लागि दृष्टिबिहिनमैत्री चुलो बनाइदिए पछि प्रशिक्षालाई भान्सामा काम गर्न निकै सहज भएको छ । जहाँ प्रशिक्षाले ढुक्कसंग आफै खाना बनाउन सक्छिन् ।

प्रशिक्षाकी आमाले छोरीको खुसीसंग खुसी साट्दै भन्छिन्, ‘म नहुँदा छोरी भोकै हुने हो की भन्ने तनावले बाहिर निस्किन सक्दिनथेँ । तर, आजकाल छोरीले आफै खाना बनाउन सक्ने भएपछि ढुक्क भएर बाहिर निस्किन थालेकी छु ।’ प्रशिक्षा आफै पनि आजकाल भान्सामै रमाउन थालेकी छिन् । उनी भन्छिन्, ‘आजभोलि हरेक बिहान आमालाई मर्निङ्ग वाक पठाउँछु, आमा घर आईपुग्दा मैले खाना बनाएर तयार पारेकी हुन्छु । वास्तवमा तालिमले मलाई सबैभन्दा ठुलो जिवन उपयोगी सिप दिएको छ र आत्मबिस्वास पनि बढेको छ ।’

त्यसो त, जन्मजात आखाँ नदेख्ने बुटबलकी रजिता रेग्मीको पनि यतीबेला खुसीको सिमा नै छैन । दुई दिने पाक शिक्षा तालिममा सहभागी भए पछि आमाले मात्रै सम्हाल्दै आएको भान्सा रजिताले सम्हाल्न सक्ने भएकी छिन् । तालिममा सहभागी हुनु भन्दा पहिले कहिल्यै भान्सामा नछिरेको बताउने रजिता यतीबेला मिठा-मिठा परिकार बनाएर परिवारका अन्य सदस्यको मन जित्न थालेकी छिन् । तालिम पश्चात खाना बनाउन मात्र होइन, अन्य काममा पनि आत्मबिश्वास बढेको उनी बताउँछिन् ।

‘दृष्टिबिहिनका लागि दृष्टिबिहिन’द्वारा दृष्टिबिहिनमैत्री वातावरणमा घरमै बसी खाना बनाउने तालिममा सहभागी भएका करिब ५० जना मध्ये ३५ जना दृष्टिबिहिन थिए । उनीहरुको जीवनमा एकै चोटी यती ठुलो परिवर्तन ल्याउन सकेको बताउँछिन् तालिम संचालक तथा ‘साथ नेपाल’का अध्यक्ष नविना ज्ञवाली । नविना आफै पनि जन्मजात दृष्टिबिहिन हुन् ।

शनिबार एक कार्यक्रमको आयोजना गरि तालिम समापन गरिएको संचालक नविना ज्ञवालीले बताइन् । उनले भनिन्, ‘भर्चुअल माध्यमबाट संचालन गरेको तालिममा सहभागि भएका प्रशिक्षार्थी साथीहरुले तालिममा सिकेका कुरालाई ब्यबहारमै उतारेका छन् । उनीहरुले आफैले खाना बनाउँदै गरेको भिडियो पनि हामीलाई पठाएका छन् । उनीहरुले आफ्नो काम आफै गर्न भएको देखेर हामी खुसी छौँ ।’ आफैले खाना बनाएको भिडियो पठाउने २५ जना सहभागी मध्ये चार वटा भिडियोलाई उत्कृष्ट मानी पुरस्कार समेत घोषणा गरिएको संचालक ज्ञवालीले जानकारी दिइन् ।

सहभागीले पठाएका भिडियोलाई (डाइनिङ्ग इन द डार्क) नामक संस्थाका संचालक बिशाल कपालीले मुल्याङ्कन गरी पुरस्कारका लागि चार जनालाई छनौट गरिएको संचालक नविना ज्ञवालीले जानकारी दिइन् । आफैले खाना बनाएको भिडियो पठाएका २५ जना दृष्टिबिहिन सहभागी मध्ये बुटबलकी समिक्षा ज्ञवाली प्रथम भएकी छिन् भने पाल्पाकी निर्मला पाण्डे दोस्रो भएकी छिन् । त्यस्तै झापाकी निशा घिमिरे र बुटबलकै रजिता रेग्मीले तेस्रो स्थान प्राप्त गरेकी छिन् ।

कार्यक्रममा प्रथम स्थान हासिल गर्नेलाई चार हजार रुपैँया, दोस्रोलाई तीन हजार रुपैँया, तृतीय हुनेलाई १५/१५ सय रुपैँया नगद पुरस्कार पनि बितरण गरिएको संचालक ज्ञवालीले बताइन् । उक्त पुरस्कार राशीको सौजन्य डाक्टर बिरेन्द्रराज पोखरेलले गरेका थिए । डाक्टर पोखरेलले (एबिलिस फाउण्डेशन) फिनल्याण्डका नेपालस्थित प्रतिनिधि समेत हुन ।

यस्ता खाले तालिमले दृष्टिबिहिनहरुको जीवनलाई सहज बनाउन महत्वपूर्ण भुमिका खेल्न सक्ने कुरामा आफुहरु बिश्वस्थ रहेको तालिम संचालक ‘साथ नेपाल’का सदस्य अर्जुन पौडेलले बताए । ‘आखिर गर्न चाहेको खण्डमा के नहुने रहेछ र? तालिमले ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने युक्तिलाई चरितार्थ गराइदिएको छ,’ उनले भने ।

कार्यक्रममा (ब्लाईण्ड युथ यसोसियसन नेपाल) ब्रान्चले भर्चुअल मार्फत कार्यक्रम गर्नका लागि जुम एप्लिकेशन उपलब्ध गराएको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि सहगोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै संचालक ज्ञवालीले भनिन्, ‘हाम्रो कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्णमा हृदयदेखि आभार अनि धन्यवाद ब्यक्त गर्न चाहान्छु । तपाईहरुकै सहयोग र साथले नै हामीले यो कार्यक्रम गर्न सफल भयौँ । आउँदा दिनहरुमा पनि तपाईहरुको यस्तै साथ र सहयोगको अपेक्षासहित पुनः सबैलाई धन्यवाद ।’

Trending News