माइतिघर आएका मिटरब्याज पीडितको व्यथा : ‘३ पटक सावाँ व्याज बुझाउँदा पनि जग्गा रोक्का !’

diyopost.com
दियो पोस्ट  सोमबार, आषाढ ०६, २०७९ | ८:४१:४२

फूलमती 

काठमाडौं । नवलपरासीको पश्चिम सुस्ता  घर भएका राम सुरत गुप्तालाई बर्खायामसँगै खेतिवालीको चिन्ता छ । तर, खेतिवालीमा हुनुपर्ने गुप्ता आफूजस्तैहरुको नेतृत्व गरेर दिनहुँ राजधानीको माइतिघर मण्डलाको सडकमा पलेटी कसेर ब्यानर, नारा सहित न्याय मागी रहेका छन् ।
मिटरब्याजबाट थलिएका उनीहरु दिनहुँ माइतिघरको सडकबाट चिच्याइरहेका छन् । तर, राज्यले उनीहरुको पीडा सुनिरहेको छैन ।
स्थानिय जगदिश बानियाँबाट ऋण लिए गुप्ता अहिले सडकमा पुगेका छन् ।

‘सबैभन्दा पहिला अरु साथीहरु पीडित भए । मलाई केही थाहा थिएन । पछि मैले पनि कर्जा लिनुपर्यो र म पनि पीडित भएँ,’ गुप्ता भन्छन्,‘छोरीको विवाह गर्न ऋण लिएको थिएँ,’ उनी भन्छन् ।

उनी लगायत आन्दोलनमा आएका हरुलाई सुनिल बानियाँ, सुरेश बानियाँ,सुदिप बानियाले मिटर ब्याज लगाएर पीडित बनाएका हुन् । “मैले धितो राखेर तीनपटक सम्म ऋण लिएँ । एकपटक ४ लाख, दोस्रो पटक २ लाख र तेस्रो पटक १ लाख रुपैंया लिएँ,’ उनले भने,‘मैले ऋण लिएको ३६ महिना भित्र साँवा र ब्याज सहित १४ लाख रुपैंया फिर्ता गरेको छु ।”

जगदिशबाट ७ लाख रुपैयाँ तीनपटक गरी लिएको ऋण गुप्ताले तीनपटकमा नै साँवा र ब्याज सहित फिर्ता दिएको बताए । आँफूले सबै तिरिसकेको भन्दै गुप्ताले आफ्नो धितो राखेको जग्गा फुकुवा गर्दिन आग्रह गरे ।

व्याजसहित रकत फिर्ता पाएका बानियाँले अझै रकम दिनुपर्ने भन्दै लालपुर्जा रोक्का राखिदिएको उनको गुनासो छ । “७ लाखको १४ हजार साँवा र ब्याज सहित फिर्ता गर्दापनि अझै रकम नपुगेको साहुले भन्छन्,’ गुप्ताको भन्छन्,‘हाम्रो घरबार, जग्गा जमिन सबै लुटेपछि के हामी भोकभोकै मर्ने हो ।”

उनको हातमा रकम डिपोजिट गरिदिएको भौचर छ । उनले भारतमा रहेको सहारा  क्रेडिट को-अपरेटिभ सोसाइटी लिमिटेडमा चेक डिपोजिट गरिएको कागज देखाए । “रकम जम्मा गरेको कागज छ । यो कागजको पछाडि पनि लेखेको छ तर हामीलाई साहु अझै रकम दे भन्छ । हामीले खाएको रकम भन्दा बढी तिरिसकेकाछौं,’ डिपोजिट भौचर देखाउँदै उनले भने ।

उनी जस्तै पीडितहरुले “मिटरब्याज लिनेलाई कारबाही गर, सरकार हामीलाई न्याय दे” जस्ता नारा र प्लेकार्डहरु बोकेर चर्को घाममा धर्ना बसिरहेका छन् ।

मिटरब्याज पीडित एक महिलाले भनिन्,“हामी कहाँ बस्ने ?, के खाने ? जग्गा जमीन सब धरौटीमा छ ।”

राम सुरत गुप्ता आँफू जस्तै अरु पीडितहरुको साथमा नेतृत्व गर्दै नवलपरासी देखि काठमाडौं आएका हुन् । अहिले उनीसंगै १५ जना मिटरब्याज पीडितहरु माइतीघर मण्डलामा ४ दिनदेखि धर्ना बसिरहेका छन् । तर, सरकारले कुनैपनि न्यायको प्रत्याभूति दिन सकेको छैन ।

 

 

सम्बन्धित खबर