माधवजी र मैले फेरि नेकपातिरै फर्कनुपर्छ भनेका छौँः प्रधानमन्त्री प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन्।

भक्तपुरमा आइतबार आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपातिर फर्कने बताएका हुन्।

उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र आफूले फेरि नेकपातिरै फर्किनु पर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए।

‘कम्युनिस्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर मैले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिस्टहरूलाई एकतावद्ध गर्‍यो भने छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ, समाजवादतिर पनि देशलाइ डोर्‍याउन सकिन्छ, भनेको थिएँ। र कम्युनिष्ट एकता भयो पनि,’ उनले भने, ‘देशको सबैभन्दा ठूलो शक्ति बन्यो, झन्डै दुई तिहाइ मत प्राप्त पनि भयो। जनतामा ठूलो उत्साह देखापर्‍यो। अब कम्युनिस्टहरूले ४०/५० कति वर्ष शासन लाने हुन् भनेर भय थियो। तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं।’

उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्न पहल सुरू गरिसकेको पनि बताए।
प्रचण्डले विचार र राजनीतिमा कहाँ त्रुटि थियो भनेर सबैले सोच्नुपर्ने पनि बताए । ‘अहिले हामी माधव नेपाल र विप्लवसहित मोर्चा बनाएर अघि बढ्ने जमर्को गरेका छौ । माधवजी र मैले फेरि नेकपा तिरै फर्कनुपर्छ, फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भनेका पनि छौ’, प्रचण्डको भनाइ छ ।