
काठमाडौं । मौरिसस लगायतका देशहरुमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका–६ घर भई हाल काठमाडौंको वनस्थली बस्ने ४४ वर्षीय भविन्द्र नाथ लामा रहेका छन् । लामाले १ जनालाई मौरिसस पठाई गार्मेन्ट सिलाईमा मासिक १ लाख रुपैयाँभन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्क बिहीन भएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले महानगरपालिका–१६ वनस्थली ढुंगेधाराबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।