काठमाडौं । उपभोक्त समितिबाट रकम लुटेको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वडाध्यक्ष विष्टलाई आइतबार पक्राउ गरिएको हो।
उनलाई रकम लुट्न सहयोग गरेको आरोपमा वीरेन्द्रनगर–३ कै दुई जना बलिराज शाही र सुशील गुरुङ पनि पक्राउ परेका छन्।
शाही र गुरूङलाई शनिबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए। उनीहरूविरूद्ध शुक्रबार जाहेरी परेको थियो।
स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले अध्यक्ष विष्ट र अरू दुई जनाविरूद्ध ‘डाँका चोरी’ गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए।
उनले साढे ६ लाख रुपैयाँ लुटेको आरोप उपभोक्ता समितिले लगाएको छ। वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट गत बिहिबार रकम लुटेर लिएको आरोप उनीमाथि छ।
वडाध्यक्ष विष्ट केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हानेको भन्दै चर्चामा आएका थिए।