अर्थमन्त्री महतको जिकिर– सूचना दिनेलाई पुरस्कारको व्यवस्था भएकाले सुन समातियो

एक क्विन्टल सुन बरामद प्रकरण

दियो पोस्ट  

काठमाडौं । अर्थमन्त्री ड. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद गरिएको जिकिर गरेका छन् । ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्लै उनले यस्तो जिकिर गरेका हुन् ।

सुन तस्करी प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही हुने अर्थमन्त्री डा. महतले बताएका छन् ।

“मैले बजेटमा नै प्रस्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरूलाई, अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो । मलाई लाग्छ, त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ,” उनले भने, “कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग, अनियमितता, गैरकानुनी काम गर्न नदिन कटिबद्ध छ । त्यहीअनुसार काम भइरहेको छ । छानबिनका लागि अनुसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासीनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भई कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ ।”

भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्नेमा उनले जोड दिए ।

साथै पार्टी केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेसँगै भ्रम छर्न सक्ने गुञ्जायस नरहेको उनले बताए । बैठक लाइभ गरिँदा राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।