
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ ।
अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह नगरेको देखिएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनी भन्छन्, ‘गृह र अर्थमन्त्रीले सुन काण्डको नैतिक जिम्मेवारी लिनुपर्छ । यो कुरा संसदमा हामी जोडदार रुपमा उठाउँछौं ।’
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा माग्ने तयारी गरेको हो ।
करिब एक क्यीन्टल सुन अवैध रुपमा आयात भएको विषयमा पार्टीको थप धारणा तय गर्न एमालेले संसदीय दलको बैठक पनि डाकेको छ । संसदीय दलको बैठक मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बस्नेछ ।
एमाले अध्यक्ष केपी ओलीले सोमबार राति कम्बोडियाबाट फर्किने क्रममा सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका थिए।उनले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको समेत बताएका थिए।