कन्सल्टेन्सीको अवरणमा मानव तस्करी : भिजिट भिषामा दुबई पुर्याएर आधा दर्जन व्यक्ति विचल्ली !

दियोपोस्ट संवाददाता  

काठमाडौं । शैक्षिक परामर्शदाता कम्पनिको रुपमा दर्ता रहेका शैक्षिक परामर्शदायक कम्पनिहरुले परामर्श बाहेकको काम गर्न पाउँदैनन् । तर, पछिल्लो समय कामदार भिषामा मानव तस्करी गरिरहँदा समेत सरकारले कुनै कारबाही गर्न सकेको छैन । पछिल्लो समय शैक्षिक परामर्शदाता कम्पनिहरुले भिजिट भिषाको नाममा मानव तस्करी गर्ने गरेको समेत पाइएको छ ।

काठमाडौंको बानेश्वरमा रहेको स्कुलर्स डेस्टिनेशन नामक कम्पनिले विद्यार्थीलाई विभिन्न कागजात बनाएर भिजिट भिषामा दुबई पुर्याएर अलपत्र पार्ने गरेको खुलेको हो ।

दियोपोस्टको सम्पर्कमा आएका पीडितहरुका अनुसार विद्यार्थीबाट प्रतिव्यक्ति ३ लाख रुपैयाँसम्म असुली गरि कम्पनिले भिजिट भिषामा दुबई पुर्याउने र अलपत्र पार्ने गरेको छ ।
पछिल्लो समय यो कम्पनिबाट भिजिट भिषामा दुबई पुगेका ७ भन्दा बढी व्यक्ति अलपत्र परेका छन् ।

यो कम्पनिका संचालकहरु पीडित युवाहरुलाई दुवैमा बिचल्ली बनाएर फरार छन् । स्वतन्त्र शैक्षिक परामर्शदाताको सदस्य रहेको यो कम्पनिको संचालक योगेश अकुल नाम गरेका व्यक्ति रहेको उल्लेख छ । तर उनको मोबाइल नम्बर स्विच अफ छ ।

दियोपोस्टलाई प्राप्त कागजात अनुसार एक युवालाई यो कम्पनिले टुरिजम भिषामा दुबई पठाएको छ । तर, यता शिक्षा मन्त्रालयबाट टुरिजम तथा हस्पिटलिटी क्षेत्रको अध्ययनको लागि एनओसी बनाइएको छ । ती पीडितलाई भिषा रिफ्युज भएको र त्यसबापत ४५ सय डलर आफूहरुले फिर्ता गर्ने कागज समेत दिइएको छ ।