काठमाडौं । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोपमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलाशले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको हो।
असई विकको हत्या आरोपमा पूर्व सांसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएको थियो। अर्कै घटनामा पक्राउ परेका यादवलाई थमन हत्या मुद्दामा अदालत पेश गरिएको थियो। उच्च अदालत जनकपुरबाट उक्त मुद्दाको सक्कल मिसिल आएपछि मुद्दा मुल्तवीबाट जागेर थुनछेक बहस सुरु भएको थियो। बहसपछि बुधबार अदालतले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
यही मुद्दामा जिल्ला अदालत महोत्तरीले यसअघि नै प्रदीप साह माझी र संजय कुमार साहसहित मोहन ठाकुर, जलेश्वर नगरपालिकाका पूर्वनगरप्रमुख शंकर शाही भन्ने रामशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, लोसपा नेता सुरेश पाण्डेय र धर्मेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइसकेको छ।