मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी ७० जनाको मृत्यु, २ दिनमै १४ ले गुमाए ज्यान

प्राकृतिक विपद:

दियोपोस्ट संवाददाता  

काठमाडौं । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा ३/३ जनाको मृत्यु भएको छ । काभ्रे, पर्वत र दाङमा २/२ तथा काठमाडौं र उदयपुरमा १र१ जनाको मृत्यु भएको छ ।

शुक्रबार रातिदेखिको अविरल वर्षाले तराई मधेशमा डुबान र पहाडमा पहिरोको प्रकोप देखिएको थियो । त्यसबाट १४७ परिवार प्रभावित भएका छन् ।

घर, सडक लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ । राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रमा अभिलेख भएका १०४ घटनाबाट १४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।