रास्वपाको कारबाहीपछि मुकुल ढकालको प्रतिक्रिया– रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ

पुनरावलोकनका लागि ३५ दिनको म्याद

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई कारबाही गरेको छ। मंगलबार चःमतिमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य मात्र राख्ने गरी अरू पदीय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

पार्टीका सहप्रवक्ता मनिष झाका अनुसार केन्द्रीय अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई पदमुक्त गर्ने निर्णय भएको हो।

ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त गरेको उनले जानकारी दिए। पार्टीको आचारसंहिता उल्लंघन गरेको र पार्टीलाई क्षतिसमेत पुर्‍याएको भन्दै रास्वपाले ढकाललाई कारबाही गरेको हो। केन्द्रीय समिति बैठकले ढकाललाई कारबाही गर्ने निर्णय गर्दै उक्त निर्णय चित्त नबुझेमा पुनरावलोकनका लागि ३५ दिनभित्र निवेदन दिनसमेत समय दिएको छ।

यता पार्टीले कारबाही गरेपछि ढकालले आफू रवि लामिछाने क्लबबाट निस्कासित भएको प्रतिक्रिया दिएका छन् । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ, रास्वपाभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,’ ढकालले भने।

ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए।

पार्टी अनुशासनबाहिर गएको भन्दै रास्वपाले ढकालमाथि कारबाही गरेको हो।