
बाजुरा । बाजुरामा करेन्ट लागेर एक बालक गम्भिर घाइते भएका छन् । जिल्लाको बुढिनन्दा नगरपालिका–३ मा जथाभावि रुपमा टाँगिएका तारका कारण १३ वर्षका तेकिन्द्र लवार करेन्ट लागेर गम्भिर घाइते भएका हुन् ।
आज (बुधबार) दिउँसो २ बजे गाई बस्तु चराउदै गरेका तेकिन्द्रकाे करेन्ट लागेर बायाँ हात र टाउकाेमा गम्भिर चाेट लागेकाे उनका कान्छाबुबा रामबहादुर लवारले बताए ।
उनले भने, “तारहरु एकदम होचो ठाउँमा थियो । अरुबेला जहिले पनि राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाइन छोड्थे । तर आज दिउँसै लाइन छोडेछन् । गोरु चराउदै गरेको मेरो भतिजोलाई करेन्ट लाग्यो ।”
घटनापछि घाइतेलाइ स्वास्थ्य चौकी लिएको थियो ।
“अहिले कोल्टी स्वास्थ्य चौकीमा ल्याएका छौं । बायाँ हात सबै जलेर हड्डि देखिएको छ । टाउको पनि फुटेको छ । भोलिसम्म अस्पतला लिन पाएदेखि हामीले बचाउन सक्थ्यौं की तर के मा कसरी लिने केही अत्तोपत्तो छैन । कसलाई भन्ने कहाँ गएर भन्ने?”, उलने प्रश्न गरे ।
विद्युत समितिले पनि अहिलेसम्म केही वास्तै नगरेको उनको भनाई छ ।
वडाध्यक्ष जगविर रोकायाका अनुसार स्वास्थ्य चौकीबाट घाइते बालकलाई अहिले नगरपालिकाको एम्बुलेन्समा नेपालगन्ज लगिदै छ ।
करिब एकवर्ष अघि गाउँलेकै श्रमदानमा नगरपालिकाको सिराडी डाडाँबाडा मेल्डुस्का जैलु बड्डाला भिडीगाउँ चोलु डोग्डेबाडा र लौटारुखका बस्तीसम्म सिमगाड जलविद्युत सञ्चालनमा आएको थियो । ६५ किलोवाट क्षमता भएको सिमगाड जलविद्युत सञ्चालनमा आएपछि ९ वटा गाउँमा उज्यालो भएको थियो । तर यसरी अव्यवस्थित रुपमा तारहरु रहेकाका कारण उच्च जोखिम रहेको वडाध्यक्ष रोकाय बताउछन् ।