ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ ! ( भिडियाे रिपाेर्ट सहित )

दियोपोस्ट संवाददाता

काठमाडौं । धर्मगुरुको आवरणमा श्रङ्खलाबद्ध रुपमा ठगी गर्दै आएका विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचार्यले हिन्दु धर्महरुको प्रमुख आस्थाको केन्द्र पशुपति क्षेत्रलाई समेत ठगीको अखडा बनाएका छन् ।
सोझा नागरिकलाई विभिन्न कार्यक्रममा अमेरिका पठाइदिने भन्दै दर्जनौँ व्यक्तिलाई ठगी गरेको र धार्मिक कार्यक्रमको नाममा समेत ठगी गरेको अभियोगमा विभिन्न अदालतको आदेशमा कैद सजाय समेत भोगेर आएका भण्डारीले पशुपति क्षेत्रमा कोटी होम संचालन गरेका हुन् । उक्त कोटी होममा आम नागरिकबाट उनले पैसा असुल गरिरहेका छन् । तर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत सरकारी निकाय मौन छन् ।
पशुपति क्षेत्रमा उनीहरुले यही श्रावण १ गतेदेखि ३२ गतेसम्मका लागि कोटिहोम संचालमा ल्याएका हुन् ।

यसअघि विष्णु प्रपन्नाचार्य भनेर चिनिने उनी पशुपतिमा संचालित कोटिहोममा भने वालयोगेश्वर ‘श्री विजय कृष्णमूर्ति जी महाराजको नामले देखिएका छन् । आफूलाई स्वघोषित महाराज बताउने उनी गुल्मीको धुर्कोट घर भएका व्यक्ति हुन् । उनले विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै एक करोड २७ लाख रुपैयाँ ठगी गरेको जाहेरी काठमाडौं प्रहरी परिसर र तत्कालिन अपराध महासाखामा परेको थियो ।

२०७१ असोजमा पक्रपाउ परेका उनलाई २०७३ मंसिर ६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश हरिप्रताप केसीको इजलाशले २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनले शुरु म्याद नै गुजारेको हुनाले अदालतले पुनरावेदनको मौका समेत दिएको छैन । तर, भण्डारीले भने अदालतको सेटिङ मिलाएर मुद्दा दोहोर्याइ पाउँन भन्दै सर्वोच्च अदालतमा निवेदन दिए । अदालतले मुद्दो दोहोर्याइ पाउन आदेश समेत गरेको पत्र उनले पठाएका छन् । ‘मलाई फसाइएको हो । म निर्दोष थिएँ । अहिले सर्वोच्च अदालतले पनि मेरो मुद्दामा दोहोर्याएर हेर्ने आदेश गरेको छ । फैसला त्रुटिपूर्ण भन्ने समेत उल्लेख छ,’ भण्डारीले दियोपोस्टसँग भने,‘मलाई अन्य संचार माध्यमले पनि लेखेर दुख दिएका हुन् । ती अनलाइन मैले बन्द नै गराएको छु ।’

उनले अधिकांश पीडितसँग आफूले मिलापत्र गरेको समेत दाबी गरे । उनले ठगी गरेकोबारे सबैभन्दा धेरै कान्तिपुर दैनिकले समाचार प्रकाशन गरेको थियो । कान्तिपुरकर्मी जनकराज सापकोटाले लामो खोज अनुसन्धान गरि रिपोर्ट तयार पारेका थिए । रिपोर्ट अनुसार भण्डारीले पुरानालाई फकाएर नयाँलाई फसाएको आरोप थियो । महायज्ञमै उनले २५ करोडभन्दा बढी ठगी गर्ने लक्ष राखेको समाचारहरुमा उल्लेख थिए ।

पटक पटक कारागार र थुनामा !

वैदेशिक रोजगार न्यायाधीकरण र काठमाडौं जिल्ला अदालतको आदेशमा उनी पटक पटक कारागारमा परेका व्यक्ति हुन् । उनी २०७६ वैशाख १३ देखि ३१ गतेसम्म डिल्लीबजार कारागारमा बसेका थिए । २०७१ असोज ६ देखि २०७३ चैत्र ४ गते केन्द्रीय कारागार सुन्धारा बसेका थिए । २०६९ कार्तिक १४ गते जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पक्राउ परि काठमाडौं परिसरमा हिरासतमा बसेका उनी त्यसअघि अर्थात २०६८ फागुन ११ गते र साउन ३२ मा १÷१ दिन हिरासत बसेका थिए ।

भिडियाे रिपाेर्ट हेर्नकाे लागि तलकाे लिंकहरूमा क्लिक गर्नुहाेस् 

सम्बन्धित खबर

सिफारिस