शरणार्थी काण्डका नाइकेसँग ‘एक करोड बुझेका’ बज्राचार्य प्रधानमन्त्री ओलीको स्वकिय सचिव नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पुत्र प्रतिक थापा, पूर्वगृहसचिव टेक नारायण पाण्डे लगायत शक्तिशाली व्यक्तिहरु कारागारमा छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाँड पनि कारागार बसेर आएका हुन् । यी सबै व्यक्तिहरु पक्राउ पर्नु र कारागार चलान हुनुको प्रमुख कारण थियो यो प्रकरणको मुख्य नाइके भनिएका केशव कुमार दुलाल र सानु भण्डारी लगायत अभियुक्तहरुको बयान । केशव कुमार दुलालको बयानको आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, उनका स्वकिय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझी लगायत व्यक्तिहरु पक्राउ र कारागार चलान भएका हुन् । उनै दुलालले एक पटक होइन तीन पटकसम्मको बयानमा नाम पोलिएका व्यक्ति हुन् राजेश बज्राचार्य । उनै राजेश बज्राचार्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख स्वकिय सचिव नियुक्त गरेका छन् । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक संजालमा सार्वजनिक गरेअनुसार बज्राचार्य प्रमुख स्वकिय सचिव नियुक्त भएका हुन् । बज्राचार्यको नियुक्तीसँगै नक्कली भूटानी शरणार्थी प्रकरणबारे प्रतिपक्षी दलहरुले लगाएको आरोपले बल पाएको छ । बज्राचार्य तिनै व्यक्ति हुन् जसले नक्कली भूटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार भनिएका केशव दुलालबाट एक करोड रुपैयाँ बुझेको आरोप छ ।


दियोपोस्टलाई प्राप्त सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रतिवेदनमा दुलालले बज्राचार्यलाई दुलालले तत्कालिन प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमै पुगेर एक करोड रुपैयाँ बुझाएको बयान दिएका छन् । एक पटक होइन उनीमाथि ३ पटक बयान लिँदा समेत बज्राचार्यले एक करोड रुपैयाँ बुझेको बयान दिएका हुन् ।
नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ ठगी गरेको तत्कालिन सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा बुझाएको अभियोग पत्रमा उल्लेख छ । पीडितहरु १ सय १५ जनाले दिएको जाहेरीको आधारमा तत्कालिन प्रहरीले अनुसन्धान थालेको थियो । नक्कली भूटानी शरणार्थी प्रकरणमा पीडित र मुख्य योजनाकारको बयानमा पटक पटक नाम पोलिएपनि तत्कालिन प्रधानमन्त्री केपी ओलीको पिए भएकै कारण राजेश बज्राचार्य र पूर्वराजदूत तथा ओलीकै सचिवालय सदस्य डा. अजय क्रान्ती शाक्यले उन्मुक्ति पाएका थिए । केशव दुलालले बयानका क्रममा भनेका थिए,‘तत्कालिन प्रधानमन्त्री केपी वलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वार्टर बालुवाटारमा उर्जा मन्त्री टोप बहादुर रायमाझीका प्रमुख स्वकिय सचिव लिला जि.सी मार्फत मलाई बोलाई मिति २०७६ साल असोजमा १ करोड रुपैयाँ नगदै बुझी लिएको हो ।’


उनले यही प्रकृतिको बयान तीन पटकसम्म दिएका छन् । तर, तत्कालिन प्रहरीले वलिको सचिवालयमा रहेका बज्रचार्यलाई बयान समेत नलिई उन्मुक्ति दिएको थियो । उनै बज्राचार्यलाई प्रधानमन्त्री ओलीले पुन प्रमुख स्वकिय सचिव नियुक्त गरेको बताइएको छ । प्रतिपक्षी दलहरुले भुटानी शरणार्थी प्रकरणमा छानबीन थालेपछि सरकार ढालिएको आरोप लगाइरहेका छन् । उनीहरुले आरोप लगाउनु र सोही प्रकरणमा पैसा बुझेको आरोप लागेका बज्राचार्यलाई नवनियुक्त प्रधानमन्त्री ओलीले प्रमुख स्वकिय सचिव नियुक्त गर्नु संयोग मात्रै नभएको बुझाई एकाथरीको छ । त्यसो त ओलीका अति निकट पात्र हुन् बज्राचार्य । उनी प्रधानमन्त्री ओलीका श्रीमती राधिका शाक्यको भाई अर्थात प्रधानमन्त्री ओलीका सालो रहेको बताइन्छ ।

सम्बन्धित खबर

सिफारिस