
काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । उनलाई नियुक्त गरिएको अन्नपूर्ण मिडियाकै आधिकारीक वेभसाइटमा उल्लेख छ । अध्यक्ष तथा क्याप्टेन रामेश्वर थापाद्वारा उनलाई स्वागत गरिएको तस्विर समेत सार्वजनिक भएको छ । तर, चार वर्षअघि उनै मनोज बस्नेतमाथि अन्नपूर्ण मिडिया नेटवर्कले रकम हिनामिनाको आरोप लगाएको थियो । त्यो आरोप आरोपमा मात्रै सिमित थिएन अन्नपूर्ण मिडिया नेटवर्कद्वारा प्रकाशित अन्नपूर्ण पोस्ट दैनिकमा सुचना नै छापेर ठहर गरिएको थियो । २०७७ असार २९ गते तत्कालिन नेपाल न्युज नेटवर्क हाल अन्नपूर्ण नेटवर्कले वितरण विभागमा कार्यरत रहँदा बस्नेतले एजेन्सी तथा बिक्रेताबाट विभिन्न शिर्षकमा रकम असुल गरेको प्रमाणित भएको तर, प्रालीको सम्बन्धित विभागमा नबुझाएको आरोप लगाइएको थियो । धेरै लामो समयदेखि ताकेता गरी कार्यालयमा उपस्थित भई हिसाब चुक्ता गर्न आग्रह गर्दा पनि बेवास्ता गरिरहेको भन्दै ७ दिन भित्र कार्यालयमा उपस्थित भई हिसाब मिलान गर्न सुचनामा अल्टिमेटम थियो । त्यतिमात्रै होइन पैसा नबुझाए कानुनी कारबाही गर्नेसम्मको जानकारी बस्नेतलाई दिएको थियो । त्यतिबेला अन्नपूर्णबाट जागिर छोडेर बस्नेत कान्तिपुरमा जागिर खान पुगे । तर, उनै बस्नेतलाई चार वर्षपछि अन्नपूर्ण मिडियाले महाप्रबन्धक नियुक्त गरेको छ ।

अन्नपूर्ण पोस्ट डटकममा प्रकाशित समाचारमा बस्नेतलाई अध्यक्ष क्याप्टेन रामेश्वर थापाले स्वागत गरेका छन् । उनलाई स्वागत गर्न अध्यक्ष थापा, ग्रुप सीईओ सनत न्यौपाने, प्रधानसम्पादक अखण्ड भण्डारी पनि संगै देखिन्थे । कुनै समय सोही मिडियाको रकम अपचलन गरेर फरार भएको आरोप लगाएको अन्नपूर्ण पोस्टले यतिबेला भने उनको गुणगानमा लामै शब्द खर्च गरेको छ । अन्नपूर्ण पोस्टका अनुसार बस्नेतसँग न्यूज रिपोटिङ,सेल्स, डिस्टीब्यूर्सन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतमा दख्खल छ ।
अन्नपूर्णका अनुसार बस्नेत युथ युनेस्को क्लब यूएसए, पाइपा ग्लोबल फिलिपिन्सको इन्टरनेसन मिडिया को–अर्डिनेटर रहेका रकन मार्केटिङ एसोसियसनको प्रोफेसनल सदस्य हुन् । उनी इन्टरनेसनल न्यूज मिडिया एसोसिएसन (आईएनएमए) सँग पनि आवद्ध छन् ।
यसैगरी बस्नेतसँग हिमालय इसेन्स प्रालिमा सेल्स कन्सल्टेन्ट भई काम गरेको अनुभव समेत छ । बस्नेतले भारत र अमेरिकाका केही ठूला मिडिया हाउसको स्थलगत अवलोकन गरेका छन्। उनले युनेस्को युथ पिस एम्बेसडर अवार्ड र कोरोना योद्धा सेवा अवार्ड प्राप्त गरेका छन् ।
राष्ट्रिय खानेपानी पत्रकारिता पुरस्कार,कान्तिपुर मिडिया ग्रुपबाट चियरम्यान एक्सिलेन्स अवार्ड,अन्नपूर्णबाट बेस्ट इम्प्लोइ अफ द एयरबाट समेत बस्नेत सम्मानित भएका थिए । चार वर्षअघि आफ्नै कर्मचारीको तस्विरसहित रकम अपचलन गरेर फरार रहेको आरोप लगाएको अन्नपूर्ण मिडियाले फेरी बस्नेतलाई नै महाप्रबन्धकमा नियुक्त गर्नुले आफ्ना कर्मचारीप्रतिको व्यवहार स्पष्ट पार्छ ।