
काठमाडौं । रात्रिकालीन क्लबहरुले क्लबमा आउनेहरुका लागि मनोरञ्जनका लागि अनुमति लिएका हुन्छन् । क्लब भित्र आउनेहरुले मदिरा सेवन गर्ने र म्युजिकका तालमा रमाउने गर्दछन् । सोही प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयसँग स्विकृति समेत लिएका हुन्छन् । तर, त्यसरी स्विकृति लिएर संचालित भएको क्लबमा प्रहरीको बर्दि लगाएका एक डिएसपी भने आफै मदिराले लठ्ठिएर ब्रेथलाइजर र ट्राफिक प्रहरीसहित क्लब भित्रै पुगेर मापसे परिक्षण गर्न पुगेका छन् । त्यही घटनाले उनको सरुवा समेत भएको चर्चा छ ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी राजेन्द्र कुमार श्रेष्ठ विवादमा आएपछि प्रहरी प्रधान कार्यालयले हेडक्वर्टर तानेको हो । पोखराको एक क्लबमा डिएसपी श्रेष्ठ मदिरा सेवन गर्नेहरुको मापसे परिक्षणका लागि आफू भने मदिराले मात्तिएर पुगेका थिए विवादित गतिविधि गरेकै कारण डिएसपी श्रेष्ठलाई आइजीपी बसन्त कुँवरले कारबाही गरेका हुन् । उनी विरुद्ध प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयमा समेत उजुरी पुगेपछि आइजी कुँवरले कारबाही स्वरुप हेडक्वार्टर तानेका हुन् । त्यतिमात्रै होइन डिएसपी श्रेष्ठले सोही क्लबबाट मासिक रकम असुली गर्ने र मदिरा समेत नियमित रुपमा माग्दै आएको समेत खुलेको छ । मदिरा मागेको लेजर समेत आइजी कुँवरको हातमा परेपछि उनलाई कारबाही गरिएको हो । उनको ठाउँमा डिएसपी सन्तोष निरौलालाई खटाइएको छ । गलत गतिविधि गरेकै कारण सरुवा भएपछि डिएसपी श्रेष्ठले संगठन प्रमुख बसन्त कुँवरको बदनामी गर्न लागि परेका छन् । क्लबको बाउन्सलाई मुद्दा लगाउँदा आफ्नो सरुवा भएको झूटो आरोप उनले लगाएका छन् । जबकी त्यो घटना समेत डिएसपी श्रेष्ठले नै बनाएको नक्कली घटना हो ।
डिएसपीले बनाएको एउटा नक्कली घटना
गत असार १४ गते राती पोखराको क्लब सिक्सटिन बन्द भइसकेको थियो । विहानी पख घर जाने क्रममा पोखराको फूलबारी घर भएका आयुस थापाले क्लबका बाउन्सरसँग सामान्य झगडा गरे । तर, झगडा प्रहरीसम्म नपुग्दै मिलापत्र भयो । तर, असार १७ गते साँझ फ्रेस इलमेन्ट रेष्टुरेन्टमा खाजा खाएर बसिरहेका उनै थापालाई पक्राउ गर्न बैदाम प्रहरीको टोली आइपुग्यो । त्यतिबेला नै सुर्यचक्र सेक्युरिटी कम्पनी विरुद्ध जाहेरी दिनुपर्ने भन्दै ती थापालाई धरपकड गरियो । जाहेरकर्ता थापाले आफूहरुको झगडा मिलिसकेको भनेर प्रहरीलाई मौखिक जानकारी गराउँदा पनि प्रहरीले उनलाई भ्यानमा हालेर बैदाम पुर्यायो । क्लब सिक्सटिनका संचालकलाई झूटो मुद्दा लगाएर फसाउने उद्देश्येले डिएसपी श्रेष्ठले जाहेरी दिन जबरजस्ती गरे । क्लबका बाउन्सर विरुद्ध जाहेरी नदिए झूटो मुद्दामा थुन्ने भन्दै डिएसपीले थापालाई धम्काए । त्यतिबेला प्रहरी र पीडित युवाबीचकै विवादले रेष्टुरेन्टमा बसिरहेका विदेशी पर्यटक समेत आतंकित बनेका थिए । असार १८ गते सूर्यचक्र सेक्युरिटी कम्पनी मार्फत क्लब सिक्सटीनमा कार्यरत बाउन्सरहरु योमन गुरुङ र रिजन गौचन आफै बैदाम प्रहरीमा उपस्थित भएका थिए । स्वयं उपस्थित भएका बाउन्सरहरु गुरुङ र गौचनलाई बैदाम प्रहरीले झगडा मिलिसकेको घटनालाई उल्ट्याएर बैदाम प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले किटानी जाहेरी दिन लगाएर गैरकानुनी रुपमा थुनामा राखेका थिए । यही नक्कली घटनालाई लिएर डिएसपी श्रेष्ठले आफ्नो सरुवा भएको बताउँदै संगठन प्रमुख विरुद्ध प्रचारवाजी गर्दै आएका छन् । जबकी उनले बाउन्सलाई मुद्दा लगाएका कारण उनको सरुवा भएको होइन । उनले पोखराका अधिकांश व्यावसायीलाई दुख र हैरानी दिएर मासिक असुली गर्र्दै आएका थिए । व्यावसायीहरुले सामुहिक उजुरी दिएपछि उनीमाथि प्रहरीले कारबाही गरेको हो ।
सडकमा हुनुपर्ने ट्राफिक नाइट क्लब भित्र ?
सामान्यतया ट्राफिक प्रहरी सडकमा हुने दुर्घटना नियन्त्रण नियन्त्रणका लागि खटिन्छन् । सडकमा सवारी भएका सवारी साधन, ठीक भए नभएको, सवारी चालक अनुमतिपत्र भए नभएको र सडकमा सवारी चालकले मापसे परिक्षण गरे नगरेको विषयमा ट्राफिक प्रहरीले परिक्षण गर्छन् । तर, पोखरामा भने ट्राफिक प्रहरी समेत नाट क्लबमा भेटिन थालेको छ । बैदामका यीनै डिएसपी राजेन्द्र श्रेष्ठले ट्राफिक प्रहरीलाई समेत दुरुपयोग गरेर रात्री क्लब भित्र मापसे परिक्षणमा खटाएको देखिन्छ । दियोपोस्टले प्राप्त गरेको भिडियोमा नाइट क्लब भित्र ब्रेथलाइजर लिएर ट्राफिक प्रहरी नै पुगेको देखिन्छ । डिएसपी श्रेष्ठले ट्राफिकलाई नै मापसे परिक्षणकालागि क्लब भित्र पठाएको तथ्य भिडियोमै देखिन्छ ।