सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई, अहिले कस्तो छ अवस्था ?

यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरु

दियोपोस्ट संवाददाता

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका एक मात्रै व्यक्तिलाई उद्धारकर्मीले थोत्रे भएर फ्याँकिएको कन्टेनर भित्रबाट निकालेको खुलेको छ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले पाइलट शाक्यलाई जहाजको ककपिट भाँचिएपछि कन्टेनरमा खसेको अवस्थामा उद्धार गरिएको बताए।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको जहाज दुर्घटनामा त्यसमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको छ । दुर्घटनाका क्रममा जीवित एक मात्रै जहाजका पाइलट शाक्यको अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

२० रनवेबाट ०२ रनवेतर्फ हुँदै उडेको जहाज केही बेरमै गोठाटारतर्फको खोंचमा खस्दै कन्टेनरमा बजारिएको थियो। त्यसक्रममा जहाजको अगाडिको भाग कन्टेनरमा अड्किएको थियो। जहाजको बाँकी भाग भने अझै तल झरेर बजारिएपछि आगो लागेको थियो ।

जोशीका अनुसार कन्टेनरभित्र अड्किएको अवस्थामा शाक्यलाई रगताम्य अवस्थामा निकालिएको हो । तर उनीसँगै कपिटमा रहेका अर्का को–पाइलट सुशान्त कटुवालले भने दुर्घटनामा ज्यान गुमाएका छन्।

पाइलट शाक्यको अवस्था अहिले कस्तो छ ?

दुर्घटनामा घाइते भएका शाक्यको निधारसहित शरीरमा गहिरो चोट लागेको छ । उनको अवस्था अहिले खतरामुक्त रहेको केएमसी प्रशासनले जनाएको छ ।
रक्ताम्य अवस्थामा अस्पताल पुर्‍याइएका ३७ वर्षे उनको टाउको र निधारमा चोट लागेको छ । शाक्यको मेरुदण्डको ‘एल टु’ भाँचिएको बताइएको चिकित्सकले बताएका छन् । अस्पताल स्रोतका अनुसार, हालसम्मको स्थिति हेर्दा चोट गम्भीर भए पनि उनी खतरामुक्त छन् ।

अहिले सघन उपचार कक्ष आइसीयूमा राखेर उपचार भइरहेको छ । उद्धार गर्दा उनी होश्मै थिए । विमानमा सवार १८ जनाको शरीरमा जलन भए पनि पाइलट शाक्यको शरीरमा भने जलन नभएको बताइएको छ । उनको मुख, निधार, टाउकोसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ ।

उनले परिवारसँग कुराकानी पनि गरेका छन् । झण्डै १५ वर्षअघि उनले उड्डयन करिअर सुरु गरेका थिए । उनी सन् २०१४ देखि सौर्य एयरलाइन्समा जोडिएका थिए ।

यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरु

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट सुशान्त कटुवालले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबर

सिफारिस