प्रशासनकै नाकमुनी धर्मगुरु भण्डारीको ताण्डव !

धर्मगुरुका अपराध श्रृखंला

दियोपोस्ट संवाददाता  

काठमाडौं । गत साउन १ गतेदेखि हिन्दु धर्महरुको प्रमुख आस्थाको केन्द्र पशुपति क्षेत्रमा ‘कोटीहोम’ धार्मिक कार्यक्रम चलिरहेको छ । उक्त कार्यक्रमको उद्घाटन नै धर्मका नाममा करोडौ रकम ठगी गरेर प्रहरी खोरमा पटक पटक बसेका व्यक्तिले गरेका छन् । धर्मगुरुको आवरणमा श्रङ्खलाबद्ध रुपमा ‘ठगी’ गर्दै आएका विजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराजले फेरि पशुपतिलाई ठगीको अखडा बनाएका छन् ।

उनले यसपटक मामा घर अनाथालय आश्रम ललितपुर र छोरीको घर जेष्ठ नागरिक आश्रम भक्तपुरको भवन निमार्णका लागि सहयोगार्थलाई एैतिहासिक श्री पशुपति कोटीहोमको उद्देश्य बनाएका छन् । यसको आयोजक संस्था मानव सेवा फाउण्डेशन रहेको छ । जबकी मानव सेवा फाउण्डेसनका संस्थापक यिनै महाराज हुन् । फाउण्डेशनका संस्थापक भण्डारी यतिबेला कोटीहोम महायज्ञका संकल्पकर्ताका रुपमा प्रस्तुत भएका छन् । योसँगै मामा घर अनाथालय आश्रम र छोरीको घर जेष्ठ नागरिक आश्रमका संस्थापक समेत उनै महाराज विजय भण्डारी भएको एक कर्मचारीले खुलाएका छन् ।

‘न भुतकालमा यस्तो महायज्ञ भयो न त भविश्यमा हाम्रो जिवनकालमा हुन सक्ला या नसक्ला’ महायज्ञको ब्यानरमा लेखिएको छ । यो नाराले सारा धेरै भन्दा धेरै भक्तजनलाई सहभागी गराएर ठुलो रकम उठाउने मनसाय रहेको प्रष्ट हुन्छ ।

धार्मिक कार्यक्रमको नाममा ठगी गरेको अभियोगमा विभिन्न अदालतको आदेशमा कैद सजाय समेत भोगेर आएका भण्डारीले पशुपति क्षेत्रमा अहिले कोटीहोम सञ्चालन गरेका छन । उक्त कोटीहोम भण्डारीको देखाउने दाँत मात्रै हो । कोटीहोमको देखावटी गरेर आम नागरिकबाट उनले धमाधम पैसा असुल गरिरहेका छन् । सर्वसाधारणको धार्मिक आस्थामार्फत ठगी गर्ने उनको यो पुरानो शैली हो । तर यस विषयमा सम्बन्धित निकाय सचेत हुनुको सट्टा प्रशासन नै लागि परेर भण्डारीलाई प्रोत्साहन गरिरहेको देखिन्छ । यसपटक विजय भण्डारी उर्फ श्री बिजय कृष्णमुर्ती महाराजले सर्वसाधरणको ध्यान खिच्न विश्वख्याती कथा वाचकहरुलाई आफ्नो कार्यक्रमको विशेष हिस्सा बनाएका छन् ।

उसो त विजय भण्डारीको हरेक कार्यक्रममा ख्याती प्राप्त व्यक्तिहरुको उपस्थिति बाक्लै हुने गरेको छ । २०७६ साल माघ महिनामा ठगीका अनेकन शृंखलामा जेलिएका व्यक्ति नै महायज्ञको मुख्य वक्ता भएको खबर सार्वजनिक भएपछि नारायणी नदी किनारमा आयोजित महायज्ञ उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा आएका तत्कालिन उपराष्ट्रपति नन्दबहादुर पुन महायज्ञमा सहभागी नभई फर्किएका थिए । सो कार्यक्रममा भण्डारीको ठगी धन्दाबारे समाचार आएपछि महायज्ञ छोेडेर सम्पर्कविहीन भएका थिए ।

साथै नागरिकलाई विभिन्न कार्यक्रममा अमेरिका पठाइदिने भन्दै दर्जनौँ व्यक्तिलाई ठगी गर्दै आएका यी बाबाका बारेमा कुनै पनि जिम्मेवार निकाय बोल्न चहादैनन् । अझ भनौं जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पशुपति क्षेत्र विकास कोषलगायत जिम्मेवार निकाय बेखबर जस्तै भएका छन् । सामान्य तरिकाले हेर्दा धर्म कर्मको काम गरिरहेको देखिन्छ तर यो भने सर्वसाधारणलाई ठग्ने उनको पुरानै तरिका हो । यसरी एउटै अपराध पटक पटक दोहोर्याउने भण्डारीप्रति सम्बन्धित निकाय विश्वस्त देखिन्छ ।
केही समय पहिले कान्तिपुरका पत्रकार जनकराज सापकोटाले लामो खोज अनुसन्धान गरि एक रिपोर्ट तयार पारेका थिए । रिपोर्टमा भण्डारीले महायज्ञकै बहानामा उनले २५ करोडभन्दा बढी ठगी गर्ने लक्ष्य राखेको समाचारहरुमा उल्लेख छ ।

 

२०७६ माघ १३ गते कान्तिपुरमा प्रकाशित समाचारको अंश

 

 

फरक नामको सहायताले नयाँ परिचय बनाएर धर्मका कर्म गरेर आएका महाराजको नामको तालिका लामै छ । यसअघि विष्णु प्रपन्नाचार्य भनेर चिनिने उनी पशुपतिमा सञ्चालित कोटिहोममा भने वालयोगेश्वर ‘श्री विजय कृष्णमूर्ति जी महाराज को नामले देखिएका छन् । आफूलाई स्वघोषित महाराज बताउने उनी गुल्मीको धुर्कोट घर भएका व्यक्ति हुन् । उनले केही समय अघि मात्रै विभिन्न व्यक्तिलाई अमेरिका पठाइदिन्छु भन्दै एक करोड २७ लाख रुपैयाँ ठगी गरेको जाहेरी काठमाडौं प्रहरी परिसर र तत्कालिन अपराध महासाखामा परेको थियो ।

धर्मगुरुका अपराधका श्रृखंला

२०७१ असोजमा पक्राउ परेका उनलाई २०७३ मंसिर ६ गते जिल्ला अदालत काठमाडौंका न्यायाधिश हरिप्रताप केसीको इजलाशले २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनले शुरु म्याद नै गुजारेको हुनाले अदालतले पुनरावेदनको मौका समेत दिएको छैन । तर, भण्डारीले भने अदालतको सेटिङ मिलाएर मुद्दा दोहोर्याइ पाउँन भन्दै सर्वोच्च अदालतमा निवेदन दिए ।

वैदेशिक रोजगार न्यायाधीकरण र काठमाडौं जिल्ला अदालतको आदेशमा उनी पटक पटक कारागारमा परेका व्यक्ति हुन् । उनी २०७६ वैशाख १३ देखि ३१ गतेसम्म डिल्लीबजार कारागारमा बसेका थिए । २०७१ असोज ६ देखि २०७३ चैत्र ४ गते केन्द्रीय कारागार सुन्धारा बसेका थिए । २०६९ कार्तिक १४ गते जिल्ला प्रहरी कार्यालय गुल्मीबाट पक्राउ परि काठमाडौं परिसरमा हिरासतमा बसेका उनी त्यसअघि अर्थात २०६८ फागुन ११ गते र साउन ३२ मा १/१ दिन हिरासत बसेका थिए ।

 

 

अदालतको फैसला

 

पशुपति विकास कोषको गैरजिम्मेवार जबाफ !
पशुति क्षेत्र विकास कोषले यो विषयमा गैरजिम्मेवार जबाफ दिएको छ । कोषका सूचना अधिकारी रेवती रमन अधिकारीले यो विषयमा आफूहरु जानकार नै नभएको दाबी गरेका छन् । उनले भने,“यो विषय एकदमै नयाँ लाग्यो । मलाई यो विषयमा तपाईले भनेपछि मात्रै थाहा भयो ।”अधिकारीले यो विषयमा आफूलाई सोधेर विवादित नबउन आग्रह समेत गरे ।

यो कार्यक्रमबाट भोलि पहिले जसरी नै सर्वसाधरण ठगीनु भयो भने त्यसमा कोषको भूमिका के हुन्छ भन्ने हाम्रो प्रश्नमा उनले भने, “यसमा हामी कुनै जबाफदेहिता हुँदैनौं किनकी अहिलेको जनामा म ठगिदै छु कि छैन भन्ने कुरा आफैले थाहा पाउने जान्ने कुरा हो । अगाडी खाल्डो छ भन्ने देख्दा देख्दै हाम फाल्न खोज्छ भने हामीले के गर्न सक्छौ र । हाम्रो काम भनेको ठाउँ माग्छ भने हामीले हाम्रो जिम्मेवारीको हैसियतले नियमअनुसार प्रक्रिया पुरा गरेर ठाउँ उपलब्ध गरादिएको हो । त्यसमा को मान्छे कस्तो भन्ने हामीलाई थाहा छैन । अब उहाँ (भण्डारी)लाईअनुसन्धान गर्न मेरो क्षमताले भ्याउदैन । मलाई यो विषयमा नसोध्नुस् ।” उनले आफूहरुले प्रक्रिया मात्रै पूरा गरेको र त्यो बाहेकको अरु विषयमा कुनै जानकारी नभएको बताएका छन् ।

रेवति रमन अधिकारी

विवादित तथा चर्चित भण्डारीबोर अनविज्ञ जिल्ला प्रशासन !
पशुपतिमा कोटिहोम सुरु हुनु पूर्वदेखि नै यसको खुब चर्चा थियो । एक महिना चल्ने यो कोटिहोम कार्यक्रम साउन १ गतेदेखि ३२ गतेसम्म चल्ने भनिएकाे छ। त्यसका लागि  विभिन्न ठाउँबाट कथा बाचकहरु ल्याएर विभिन्न माध्यमबाट बाक्लै प्रचार प्रसार समेत गरिएकाे छ ।  तर यसबारे भने जिल्ला प्रशासन कार्यालय बेखबर छ । जिल्ला प्रशासन कार्यालय प्रमुख (सिडिओ) जितेन्द्र बस्नेतले आफूलाई यस विषयमा जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् । “हामीले संस्थाका नाममा अनुमति दिएका हौं । कुनै व्यक्तिका आधारमा हामीले दिने होइन । फेरि म यो विषयमा विल्कुल अन्जान छु । साँच्चै भन्ने हो भने मलाई यो विषयमा केही थाहा नै छैन ।” बस्नेतले भने,“हामीले दिने सामान्य शान्ति सुरक्षा हो त्यसको हामीले राम्रोसँग व्यवस्थापन गर्दिएका छौं । बाँकी को कस्तो मलाई थाहा छैन । यस विषयमा म केही बोल्न चाहान्न ।”

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत

कोटीहोम उनै भण्डारीको अध्यक्षतामा सुरु भएको थियो । यसअघि ठगीका घटनाहरु पनि यस्तै प्रकृतिका थिए । भण्डारी धार्मिक कार्यक्रम सञ्चालन गर्ने र भक्तजनहरुबाट रकम असुलेर लाखौं रुपैया ठगी गर्दै आएका छन् । हिन्दु धर्मको प्रमुख अस्थाको केन्द्र पशुपतिमा यतिबेला पटक पटक जेल बसेका यिनै भण्डारीको रजगज छ । तर यसबारे सम्बन्धित निकाय मौन छन् ।

यो पनि पढ्नोस्

ठगी आरोपमा पटक पटक जेल बसेका धर्मगुरु भण्डारीद्वारा पशुपतिमा ‘कोटीहोम’ !

सिफारिस