ऐतिहासिक कालखन्डहरुको अन्त्य हुनु अघि तिनीहरु कस्ता थिए भनेर थाहा पाउन असाध्यै अप्ठेरो हुन्छ । ‘रेनेसा’ अर्थात पुनर्जागरणको युगलाई धेरै पछि मात्रै पुनर्जागरणको समय रहेछ भन्ने मानियो । पुनर्जागरणकाल अघिको ‘डार्क एज’ अर्थात अध्यारो युग भनिने समयबारेको मूल्यांकनका हकमा पनि समान कुरा लागू हुन्छ । यसको कारण भने सजिलो छ ।
कुनै पनि गतिलो वा पीडादायी घटनाक्रम यत्तिकैमा रोकिन्छ वा लामो समयसम्म जान्छ भनेर थाहा पाउन असम्भव हुन्छ । त्यसैले हामी बिद्यमान युगको स्वरुप पूर्ण रुपमा बुझ्न असमर्थ हुन्छौँ । तथापी म भने नयाँ दावी गर्दैछु । मेरो विचारमा हामी विश्व इतिहासमा एउटा युगको अन्त्य भएर अर्को युगको गोधुलिमा छौँ ।
४० वर्षे शीतयुद्ध अन्त्य गर्दै बर्लिनको पर्खाल ढलेको २५ वर्ष पुग्यो । यसलगत्तै अमेरिकी एकल प्रभुत्वको युग शुरु भयो । धेरैको भाग्य चम्कियो । खुला समाज तथा राजनीतिक प्रणालीको व्यापक विस्तार भयो । मुख्य शक्तिहरुबिच उल्लेख्य सहकार्य हुनुका साथै व्यापक शान्तिको अवस्था देखियो ।
अब त्यो युगको पनि अन्त्य भएको छ । यसले अशान्त र भद्रगोल युगको सुत्रपात गरेको छ । आजको मध्यपूर्व आधुनिक युगको ‘तीस वर्षे युद्ध’ को शुरुवात चरणमा छ । जहाँ राजनीतिक तथा धार्मिक समूहहरु दिर्घकालिन तथा निर्दयी स्वरुपमा मुलुक भित्र एवंम सीमापार द्वन्द बढाउन उद्दत छ्न ।
रुसले युक्रेनलगायत जताततै युरोपेली व्यवस्थालाई चुनौति खडा गरेको छ । अब सैन्य बलको आधारमा भौगोलिक सीमा विस्तार गर्नु हुन्न भन्ने युरोपेली कानुनी सिद्धान्तलाई खुला चुनौति दिँदैछ ।
एसिया शान्त देखिन्छ । तर, त्यहाँको शान्ति अन्योलपूर्ण छ । जुनसुकै बेला शान्ति भंग भएमा अनौठो नमान्दा हुन्छ । त्यहाँ ठूलो संख्यामा समाधान हुन बाँकी सीमा समस्या छन् । राष्ट्रवादको लहर बढिरहेको छ । तर, द्वन्द निवारण वा कम गराउने द्विपक्षिय तथा क्षेत्रिय कुटनीतिक व्यवस्था भएको छैन् ।
वैश्विक रुपमा जलवायु परिवर्तनको गति घटाउने, व्यापार प्रबर्धन गर्ने, डिजिटल युगको नयाँ साझा नियम तय गर्ने तथा महामारीहरुको नियन्त्रण गर्ने पहल कमजोर तथा अपूर्ण छ । यस्तो हुँदै जानुको कारणहरु भित्र घोत्लिने हो भने हामी विश्वमा देखिएको आधारभुत परिवर्तन भेट्छौं ।
शक्ति विभिन्न प्रकारका राज्य तथा गैह्र राज्य खेलाडीहरुको हातमा फैलिदैछ । यस अन्तर्गत आतंककारी समूहदेखि गुरिल्ला समूह, बहुराष्ट्रिय निगम तथा गैह्रसरकारी संगठन (एनजिओ) हरु सम्म पर्छन । हरितगृह ग्याँसको उत्सर्जन, लागू औषधको कारोबार, हतियार व्यापार, आतंककारीहरुको ओहोर–दोहोर तथा घातक जीवाणुहरुको प्रवाहलाई यहि अवस्थामा नियन्त्रण गर्न अप्ठेरो हुँदै गएको छ ।
समस्याको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा सहमति हुन असाध्यै गाह्रो छ । सहमति भइहालेमा पनि त्यसलाई लागू गराउने इच्छाशक्ति ज्यादै न्युन हुने गर्छ । बढ्दो अव्यवस्थाका अन्य कारणहरु अमेरिकासँग सम्बन्धित छन् । सन २००३ मा शुरु भएको इराक युद्धले सुन्नी तथा सिया इश्लामबिचको तनाव अझै बढाइदिएको छ ।
साथै इरानको महत्वकांक्षा फैलिन रोक्ने अवरोधहरु हटाइदिएको छ । भर्खरै अमेरिकाले सिरियामा तत्ख्तापलट गरेको छ । तर, त्यस क्षेत्रमा काम भने खासै गरेको छैन् । अमेरिकी चेतावनीका बाबजुद सरकारी सेनाले रासायनिक हतियारको प्रयोग गरेको छ ।
यो क्षेत्रमा ‘इश्लामिक स्टेट’ को उदय भएको छ । उता अमेरिकाले एसियामा आफ्नो वर्चश्व बढाउनका लागि ‘पिभोट टु एसिया’ भनेर नयाँ नीति ल्याएको छ । तर, यसलाई वास्तविकतामा उतार्न उल्लेखनीय काम भने केही पनि गरेको छैन् । यी र यस्ता विविध उपक्रमहरुले अमेरिकाको विश्वसनियता माथि नै व्यापक आशंका बढाइ दिएका छन् ।
बढ्दो संख्यामा सरकार तथा अन्य पक्षहरु आफ्नै तरिकाले काम गर्न थालिसकेका छन् । बढ्दो वैश्विक अस्थिरताको घरेलु व्याख्याहरु पनि छन् । मध्यपूर्वमा सहनशिलताको अभाव छ । त्यहाँ सरकार र समाजका कर्तव्य र सीमाहरु निश्चित छैनन् ।
धर्मले यी सबैको ठाउँ ओगट्दैछ । त्यहाँ उदाइरहेको उग्रवादबाट जोगिन एकदमै न्यून काम भएका छन् । कतै–कतै त उदाउँदो उग्रवादबाट उल्टै सन्तुष्टी लिने गरेको पनि देखिन्छ । पुटिन मातहतको रुस अब जुन सुकै विधिबाट पनि आफ्नो साम्राज्यको गुमेको भू–भाग फिर्ता ल्याउन लागे जस्तो देखिन्छ ।
युरोपको हालत खराब छ । वैश्विक भूमिकामा आउनका लागि आवश्यक साधन तथा सोच दुबैको अभाव देखिन्छ ।
एसियामा धेरै सरकारहरु राष्ट्रवादको उदयलाई या त समायोजन गर्दैछन या प्रोत्साहन गरिरहेका छन् । यसले त्यहाँको जनसंख्यालाई छिमेकीहरुसँग सम्झौता गर्न तयार हुनुको सट्टा झगडा गर्ने चिन्तनको प्राधानता विकास गराउँदै छ ।
म यहाँ हामी अर्को अध्याँरो युग (डार्क एज) मा जाँदैछौं भन्दै छैन । केही सकरात्मक पक्षहरु पनि नभएका होइनन् । अन्तर्निर्भरताले सरकारहरुलाई आपसी गतिविधिमा सहजिकरण पक्कै गर्छ । संसारको अर्थतन्त्र सन् २००८ को संकटबाट पातालमा पुगेको अवस्थाबाट जुर्मुराउदै छ । युरोपमा मुलतः स्थायीत्व नै छ । ल्याटिन अमेरिका तथा अफ्रिकाको आर्थिक सहभागिता बढ्दै छ ।
नयाँ अव्यवस्थाको बाटोबाट पछाडी फर्किने संभावना पनि छ । अन्तर्राष्ट्रिय सम्झौताहरु मार्फत इरानको आणविक हतियार निर्माण क्षमता कमजोर बनाउन सकिन्छ । जसले गर्दा उसका छिमेकीहरु इरानमा आक्रमण गर्ने वा आफुले पनि आणविक हतियार बनाउने कदमबाट पछि हट्न सक्छन ।
‘इश्लामिक स्टेट’ लाई कमजोर बनाउन विभिन्न कदम चालेर उनीहरुले नयाँ भर्ति लिने तथा डलरमा पहुच हुने अवस्था रोक्न सकिन्छ । नाकाबन्दी तथा न्यून तेल मुल्यको सहारामा रुसलाई युक्रेन मामलामा सम्झौतामा ल्याउन सकिन्छ । एसियाली सरकारहरु क्षेत्रिय प्रबन्ध मार्फत शान्ति वहाल गर्न सक्छन् ।
अहिले गर्न सकिने कामहरुलाई विभिन्न मुलुकका आन्तरिक राज्नीतिले भने अवरोध गर्दैछ । अन्तर्राष्ट्रिय साझा समझदारीको अभाव छ । अमेरिकी प्रभाव घटिरहेको छ । अर्को कुनै मुलुकले तत्काल विस्थापन गर्ने अवस्था पनि छैन् । साथै थोरै मुलुकहरु मात्रै अव्यवस्था हटाएर व्यवस्था बहाल गराउन इच्छुक देखिन्छन ।
यसको परिणाम रुवरुप संसार कम शान्त हुँदै जानेछ । कम सम्वृद्ध हुनेछ । शीतयुद्ध लगत्तैका भन्दा नितान्त फरक चुनौतीहरु सामना गर्न विश्वको प्रभावकारीता घट्दै जानेछ ।
(फरेन अफेयर्समा सन् २०१४ मा प्रकाशित लामो आलेखको संक्षिप्त स्वरुपको रुपमा प्रोजेक्ट सिन्डिकेटमा भर्खरै प्रकाशित)