रुषा थापा
पछिल्लो समय विमानस्थलमा विदेश जानेहरुको लर्को देखिन्छ । १८ वर्ष उमेरका आफ्ना छोराछोरी विदेश पठाउन अभिभावकहरु एयरपोर्टमा बिदाईका निम्ति आएको दृश्य निकै कहाली लाग्दो छ । मानिसहरुलाई पैसा नै सबथोक भएको छ । अभिभावकहरु पैसाका लागि आफ्ना छोराछोरी बेचिरहेका छन् भन्दा फरक नपर्ला । पैसाकै लागि उनीहरुको सुनौलो भविष्य चक्नापुर पार्ने काम भइरहेको छ ।
त्यसो त, नेपालका १८ वर्षदेखि ५२ वर्षसम्म उमेरका नेपालीहरु रोजगारीको सिलसिलामा खाडीलगायत विभिन्न मुलुक जाने गरेको तथ्याङ्कमा उल्लेख छ । विदेश जानुअघि उनीहरुको स्वास्थ्य परीक्षण गरिन्छ । काम गर्नेसक्ने क्षमता भएका र कुनै पनि रोग नलागेका व्यक्तिलाई मात्र विदेशीले भिसा दिन्छ । देशमै बसेर आफ्नो भविष्य निर्माण गर्ने बेला युवाहरु निरोगी अवस्थामा विदेश जान्छन् ।
उनीहरुको बल, बुद्धि र क्षमता देशलाई काम लाग्दैन । उनीहरुले जतिपनि काम गर्छन्, त्यसले विदेशीलाई मात्र फाइदा पुग्छ । विदेश अर्थात् खाडी मुलुक गएकाहरुमध्ये कोही दुई वर्षमै फर्किन्छन् त कोही दशकसम्म त्यही बस्छन् । कतिपय चाँहि बाकसमा प्याक भएर स्वदेश फर्किन्छन् ।
अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत बिकसित भनिएका देशमा गएकाहरु नेपाल फर्किन खोज्दैनन् । उनीहरु रोजगारी अथवा पढाईका सिलसिलामा त्यहाँ पुगेका हुन्छन् । बिस्तारै काजगपत्र मिलाएर परिवार लिएर जान्छन् र उतै पलायन हुन्छन् ।
विदेश गएर पैसासंगै रोगी भएर आउँछन् । विदेश जाँदा निरोगी शरिर लिएर गएका अधिकांशको मिर्गौला फेल भएको पाइएको छ । अन्य गम्भीर रोगबाट समेत उनीहरु पीडित भएका छन् । उनीहरुले विदेशमा कमाएको पैसा यहाँ उपचार गर्दागर्दै सकिन्छ ।
अर्कोकुरा, विदेश (खाडी) गएका पुरुष तथा महिलाको विवाह गर्न समेत मुस्किल भइरहेको छ । विशेष गरि खाडी मुलुक गएर आएकाहरुलाई अभिभावकहरु आफ्ना छोराछोरी दिन मान्दैनन् । अमेरिका, अस्ट्रेलिया गएर फर्केकाले तुरुन्त केटाकेटी पाए पनि खाडी गएकाहरुले केटी नपाएको गुनासो प्रशस्तै सुन्न पाइन्छ ।
पहिले अभिभावकहरु आफ्ना सन्तानमाथि निकै कडाई गर्थे । सन्तानले घर बाहिर रात बिताउनु भनेको सिङ्गो परिवार र कुलको इज्जतको सवाल बन्थ्यो । त्यसैले पनि अभिभावकहरु आफ्ना सन्तानलाई घरबाहिर बस्न दिइदैनथे ।
सन्तानका हरेक कुरा अभिभावकलाई थाहा हुन्थ्यो । १६ वर्षअगाडि वा पुगेपछि केटा र केटीको बिहे गरिदिइन्थ्यो । अहिले सरकारले १६ वर्ष पुगेपछि नागरिकता दिन्छ । १८ वर्ष उमेरपछि विदेश जान पासपोर्ट बनाइदिन्छ । तर, बिहे गर्नका लागि चाँहि २० वर्ष तोकेको छ । अनि बिहे नगरी १८ वर्षमा उनीहरु विदेश जान्छन् ।
पछिल्लो समय ‘प्लस टु’ पास गर्नेबित्तिकै विदेश जाने चलन चलेको छ । देशमै बसेर उच्च शिक्षा हासिल गरी केही गर्नुपर्ने युवा–युवतीहरु धमाधम विदेश पलायन भइरहेका छन् । विदेश नजाऊ भनेर सम्झाउनुपर्ने अभिभावकहरु पनि उल्टै छोराछोरीलाई विदेश जान हौसाइरहेका छन् । ‘अरुको छोराछोरीले विदेश गएर यति कमायो, तँ पनि जा’ भन्छन् । जसका कारण पहिले देशमै केही गर्ने सोच राखेका उनीहरु परिवारको दबाबमा विदेश जान बाध्य हुन्छन् ।
विदेश जान्छन्, महिनामा लाखौं कमाउँछन् । परिवारको हरेक आवश्यकता पूरा गरिदिन्छन् । पछि उसलाई नै हेरिदिने कोही हुँदैन । विदेशबाट रोगी बनेर स्वदेश आएपछि परिवारको साथसमेत छुट्छ । एकातिर बिहे भएको हुँदैन, अर्कोतिर विदेशमा कमाएको पैसा उपचार गर्दागर्दै सिद्धिन्छ । अन्तिममा उसको मृत्यु हुन्छ, वंश पनि नासिन्छ ।
यता, बिहे गरेर विदेश गएकाहरुले पनि घरपरिवार तहसनहस भएको छ । श्रीमान विदेश गएपछि श्रीमतीले अर्कैसँग सम्बन्ध राख्ने वा श्रीमति विदेश गएको खण्डमा श्रीमानले अर्कैसँग सम्बन्ध राख्ने । कतिपयको चाँहि विदेशमै पनि प्रेम सम्बन्ध बस्छ । अनि उसले नेपालमा रहेकी आफ्नी श्रीमती, छोराछोरीलाई बेवास्ता गर्दै पछि सम्पर्कविहीन बनिदिन्छ र घरबार बिग्रिएका उदाहरण पनि प्रशस्तै छन् ।
यसको प्रत्यक्ष मार स–साना बालबच्चालाई परेको छ । श्रीमानले छोडेपछि श्रीमतीले अर्कै पुरुषसंग सम्वन्ध अघि बढाउने र साना बालबच्चा छोडेर हिड्ने प्रचलन बढ्दो छ ।
सुरक्षा निकाय तथा निजामती सेवामा जागिर खान १८ वर्ष पुग्नुपर्छ । जबकी पहिले आर्मी, प्रहरीमा १६ वर्षकै उमेरमा जागिर खान पाइन्थ्यो । पहिला पहिला एउटै व्यक्तिका सन्तान डेढ–दुई दर्जनसम्म हुन्थे । पाँच–सात जना सन्तान त सामान्य हुन्थ्यो । अहिले बिहे नै गरिँदैन । बिहे गरिहाले पनि सन्तान जन्माइदिँदैन । जन्माइहाले पनि एउटा वा बढीमा दुईटा सन्तान मात्रै जन्माइन्छ । अनि त्यो सन्तान पनि विदेश पठाइन्छ ।
विदेश नगएका युवा–युवती लागूऔषध, मादक पदार्थ, जुवातासमा फसिरहेका छन् । देशको लागि काम गर्नुपर्ने उमेरमा उनीहरुले कुलतमा फसेर आफ्नो जीवन नै सिध्याएका छन् । अहिले जेलमा रहेका कैदीमध्ये अधिकांश युवा–युवती छन् । कोही लागूऔषधको आरोपमा जेल सजाय काटिरहेका छन् त कोही हत्या, कुटपिट, जबरजस्ती करणीलगायत विभिन्न अभियोगमा । उनीहरुको जीवन नै बर्बाद गएको छ । किनकि एकचोटि जेल गएपछि उनीहरुलाई समाजमा हेर्ने दृष्टिकोण फेरिन्छ । उनीहरु पनि समाजमा बस्न सक्दैनन् ।
अनि फेरि कुलतमा लाग्छन् । यसरी जेल गएका युवा–युवती निस्किएपछि समेत सोही गतिविधिमा संलग्न हुन्छन् । उनीहरुको जीवन नै जेल भित्र–बाहिर गर्दा सिद्धिन्छ । केही वर्षअघिसम्म गाउँ मात्र खाली थियो, अचेल त शहरसमेत सुनसान देखिन्छ । कतै पनि युवायुवती देखिँदैनन् या भनौं देशमा युवा नै छैनन् । अधिकांश युवा रोजगारीको सिलसिलामा विदेश गएका छन् त बचेका युवा कुलतमा फसी जेल सजाय काटिरहेका छन् । यो अवस्थाले नेपालको भविष्यप्रति चिन्ता बढाएको छ ।
हाम्रो देशको भविष्य कहाँ छ ? युवाहरुको अवस्थाले छर्लंग देखाउँछ । देश विकास गर्न देशमा युवा नै नभएपछि कसरी विकास हुन्छ ? सरकारले पनि यसबारे सोच्नैपर्ने अवस्था आएको छ । नभए देशको भविष्य पनि अहिले विदेश गई रोगी र जीर्ण बनेर आएका युवाहरुको अवस्थाजस्तै हुनेछ । सरकारले रेमिट्यान्स मात्र होइन, युवाको भविष्यबारे पनि सोच्नुपर्छ ।
पहिलेपहिले दशै तिहारमा टिका लगाउँदा ठूलाबडाले आर्शीवाद दिन्थे, ‘तिम्रो सन्तानले डाँडाकाँडा ढाकुन् ।’ धेरै सन्तान भएकाहरु धनी मानिन्थे । एउटा न एउटा सन्तानले केही प्रगति गर्छ भनिन्थ्यो । र, उनीहरुले गर्थे पनि । त्यस्तै, झगडा पर्दा ‘तेरो घरमा सिस्नो उम्रियोस्, सन्तान मासिहालोस्’ भनेर सराप दिइन्थ्यो ।
यो सराप देशभरलाई लागेको छ । किनकि गाउँ रित्तिएको छ । छोराछोरी विदेशमा छन् । एउटै सन्तान भएपनि सँगै बस्न पाइएको छैन । भएको सन्तानले बिहे गर्न मान्दैन । बिहे गरेर के हुन्छ ? भन्दै प्रश्न गर्छन् । अनि देशमा शिक्षाको विकास भएर के भयो ? जब मानिसहरुले आफ्नै देश र भविष्यबारे सोच्न सक्दैनन् ।
किताबी ज्ञान त धेरैले हासिल गरे । व्यवहारिक ज्ञान चाँहि कसैमा भएन । अहिले नेपाली विदेशमा छन्, नेपालमा चाँहि भारतीयहरु छ्यापछ्याप्ती छ । यस्तै भइरहे भारतीयले नेपाल नै कब्जा गर्न सक्छन् । अभिभावकले सन्तान र सरकारले नागरिकको महत्व नबुझ्दा देशकै भविष्य अन्योल र संकटमा परेको छ ।