बिनाबर्दीका सिपाही सुस्ताबासीः सिमा बचाउन माइतीघरमा अनिश्चितकालीन धर्नामा

दियोपोस्ट संवाददाता  

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा आफ्नो भूमि र अस्तित्व जोगाउने अभियान लिएर काठमाडौं आएका छन्। भारतीय पक्षले सुस्ताका नेपालीलाई आफ्नै भूमिमा सहज रूपमा बस्न नदिएको, पटक-पटक हस्तक्षेप गरेको तथा पछिल्ला घटनाक्रमले सीमा क्षेत्रमा थप असुरक्षा बढाएको भन्दै उनीहरूले ‘सुस्ता बचाउ अभियान’ सञ्चालन गरेका हुन्।

अभियानअन्तर्गत उनीहरू मंगलबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका छन्। आन्दोलनकारीहरूले सुस्ता नेपालको अभिन्न भूभाग भए पनि राज्यको प्रभावकारी उपस्थिति कमजोर हुँदा स्थानीय नागरिकले वर्षौंदेखि अनेक समस्या भोग्दै आएको बताएका छन्। सीमा विवाद, भारतीय सुरक्षा बल (एसएसब)को हस्तक्षेप तथा राज्यको बेवास्ताका कारण सुस्तावासी आफ्नै भूमिमा असुरक्षित महसुस गर्न बाध्य भएको उनीहरुको भनाई छ ।

सुस्ता बचाउ अभियानले सरकारसँग सीमा क्षेत्रमा नेपालको उपस्थितिलाई प्रभावकारी बनाउन, स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न, सीमा अतिक्रमण र हस्तक्षेप रोक्न तथा सुस्ताको दीर्घकालीन समाधानका लागि कूटनीतिक र प्रशासनिक पहल तत्काल अघि बढाउन माग गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिपछि सुस्ता मुद्दा पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ। माइतीघरमा धर्नामा बसेका सुस्तावासीले आफूहरू कुनै राजनीतिक दलको झण्डामुनि नभई राष्ट्रिय स्वाभिमान र सीमा सुरक्षाको पक्षमा उभिएको बताएका छन्।

उनीहरूले ‘हामी बिना बर्दीका सिपाही हौं’ भन्दै सीमाको रक्षा गर्ने जिम्मेवार नागरिकको भएको सन्देश दिएका छन्। यही भावनाले उनीहरूको अभियानप्रति सामाजिक सञ्जालदेखि विभिन्न नागरिक समूहसम्म समर्थन बढ्दै गएको देखिएको छ।

आन्दोलनकारीहरूले सरकारले आफ्नो माग सम्बोधन नगरेसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

सिफारिस