नेपाल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीलाई साइबर सुरक्षा सचेतना

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूका लागि साइबर सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कलेजको कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीको आयोजनामा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सहयोग तथा वाइवी सलुसन्सको प्रशिक्षण साझेदारीमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई साइबर सुरक्षा, साइबर अपराध तथा डिजिटल सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश ठकुराठीले सूचना प्रविधिको तीव्र विकाससँगै आइटी तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरू समेत जानअन्जानमा साइबर अपराधको जोखिममा पर्ने क्रम बढिरहेको बताए।

उनले यस्ता घटनाको न्यूनीकरणका लागि साइबर सुरक्षा सम्बन्धी सचेतना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै डिजिटल सुरक्षाको महत्वबारे व्यापक जनचेतना फैलाउन सरकार, नियामक निकाय, विश्वविद्यालय, कलेज तथा अन्य सरोकारवाला संस्थाहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य सह-प्राध्यापक दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरूलाई साइबर सुरक्षा, साइबर अपराध तथा साइबर कानुनबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। नेपालमा पछिल्ला वर्षहरूमा साइबर अपराध, वित्तीय ठगी तथा सूचना प्रविधिको दुरुपयोगका घटना बढ्दै गएको उल्लेख गर्दै उनले आइटी अध्ययनरत विद्यार्थीहरू यस्ता विषयमा अझ बढी सचेत हुनुपर्ने बताए।

प्राचार्य भण्डारीले कलेजले पाठ्यक्रममा आधारित अध्ययनसँगै व्यवहारिक तथा जीवनोपयोगी ज्ञान अभिवृद्धिका लागि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको पनि बताए।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ विषयमा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन-अध्यापन हुँदै आएको छ। व्यवहारिक, प्रयोगात्मक तथा जीवनोपयोगी शिक्षण प्रणाली अवलम्बन गर्दै आएको यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता प्राप्त छ।

सिफारिस