काठमाडौँ । आकर्षक तलबसहित वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका-८ निवासी रामदास महर्जन र काठमाडौँ महानगरपालिका-१५ निवासी सरिब गिरी रहेका छन्।
प्रहरीका अनुसार वाङ्दी लामाले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट ५० हजार रुपैयाँ ठगी गरेका थिए। त्यसैगरी ललितबहादुर तामाङले कोसोभो पठाइदिने भन्दै एक जनाबाट दुई लाख ५० हजार रुपैयाँ, सन्तोषी लामाले स्पेन पठाइदिने बहानामा एक जनाबाट १५ लाख रुपैयाँ, रामदास महर्जनले युएईमा रोजगारी दिलाइदिने भन्दै सात जनाबाट ४५ लाख रुपैयाँ तथा सरिब गिरीले क्यानडा पठाइदिने प्रलोभनमा एक जनाबाट २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।