हवाई इन्धन सस्तिएसँगै बुद्धले घटायो आन्तरिक उडानको भाडा, इकोनोमी क्लास काठमाडौं-धनगढी उडान १० हजारमै

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल आयल निगम (एनओसी) ले हवाई इन्धनको मूल्य घटाएसँगै बुद्ध एयरले आन्तरिक उडानको भाडामा समायोजन गरेको छ । हवाई इन्धनको मूल्य सस्तिएसँगै यात्रुहरूलाई केही राहत मिलेको छ ।

नेपाल आयल निगमको मंगलबार बसेको सञ्चालक समितिको बैठकले घरेलु हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट ४० रुपैयाँ घटाएर प्रतिलिटर २२९ रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटेर २२९ रुपैयाँ कायम भएसँगै बुद्ध एयरले आफ्नो फ्युल सरचार्जको शुल्क करिब १५ प्रतिशतले घटाएको हो ।

बुद्ध एयरले इन्धन बढी खर्च हुने काठमाडौं–धनगढी रुटको भाडामा सबैभन्दा बढी १ हजार ५६५ रुपैयाँले घटाएको छ । धनगढी उडानको फ्युल सरचार्ज शुल्क यसअघि १० हजार ५२० रुपैयाँ रहेकोमा अहिले घटेर ८ हजार ९५५ रुपैयाँ कायम गरिएको छ ।

यससँगै काठमाडौं–धनगढीको इकोनोमी क्लासको न्यूनतम भाडा ९ हजार ९९९ रुपैयाँ ९९ पैसा कायम भएको छ भने महँगो अर्थात् वाई क्लासको भाडा २० हजार ६३६ रुपैयाँ रहेको छ।

त्यस्तै, काठमाडौं–सुर्खेत रुटमा १ हजार २२० रुपैयाँ, माउन्टेन फ्लाइट अर्थात् एभरेष्ट एक्सपिरियन्समा १ हजार २१५ रुपैयाँ, काठमाडौं–नेपालगञ्ज रुटमा १ हजार १५५ रुपैयाँ र काठमाडौं–भद्रपुर रुटमा १ हजार ६५ रुपैयाँले भाडा घटेको छ । काठमाडौं–पोखरा रुटको भाडा ५६० रुपैयाँले घटेर न्युनत भाडा ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता छोटो दूरीको काठमाडौं–सिमरा रुटमा पनि ३२० रुपैयाँले भाडा घटेको छ । काठमाडौं–सिमरा उडानको एकतर्फी भाडा ३२० रुपैयाँले घट्दा न्यूनतम भाडा ४ हजार ७९८ रुपैयाँ कायम गरिएको छ ।

यसअघि अमेरिका र इरानको युद्धका कारण हवाई इन्धनको मूल्यमा अत्यधिक बृद्धि हुँदा वायुसेवा कम्पनीहरूले पनि गत मे महिनादेखि फ्युल सर चार्जको शुल्क बढाएका थिए । भाडा महँगिएसँगै काठमाडौं–धनगढीको एकतर्फी न्यूनतम भाडा ११ हजार ५६४ रुपैयाँ पुगेको थियो । भने अधिकतम भाडा करिब २२ हजार रुपैयाँ रहेको थियो ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै बुद्ध एयरले पनि आफ्ना सबै रुटको भाडा घटाएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए । इन्धनको मूल्य सस्तिएसँगै आन्तरिक हवाई भाडा समायोजन हुँदा यात्रुहरूलाई केही राहत मिलेको छ ।

हेर्नुहोस् फ्युल सरचार्ज: