नेपाल इन्जिनियरिङ कलेजमा एकैदिन रक्तदान, आँखा शिविर तथा मक टेष्ट

दियोपोस्ट संवाददाता  

काठमाडौं । चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेजमा एकैदिन रक्तदानसँगै निःशुल्क आँखा परीक्षण शिविर र विद्यार्थीहरुका लागि मक टेष्ट आयोजना गरिएको छ । बिहीबार कलेजमा लायन्स क्लब अफ भक्तपुर सिद्धकालीसँगको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तरगत सेवाभावले आयोजित शिविरमा कलेजका प्राध्यापक, विद्यार्थी, कर्मचारीसँगै स्थानीयहरुले पनि उल्लेखनीय सहभागीता जनाएको कलेजको मिडिया रिलेसन अफिसर महेश पुजाराले जानकारी दिए । आँखा शिविरमा मोतियाविन्दु, जलविन्दु, दृष्टि जाँच, एलर्जी लगायतका जाँचहरु गरिएको थियो ।

यस्तै, सोही अवसरमा कलेजले निःशुल्क मक टेष्ट समेत सञ्चालन गरेको थियो । इन्जिनियरिङ अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारीमा सहयोग पुगोस् भनेर निःशुल्क मक टेष्ट राखेको थियो ।

उक्त मक टेष्टमा हर्ष जैसवाल प्रथम हुँदै नगद ५ हजार पुरस्कार समेत प्राप्त गर्दा सचेत सुवेदी र सोवित खत्री दोश्रो तथा तेश्रो भए । कलेजले उनीहरुलाई पनि ३ हजार तथा २ हजार नगद पुरस्कार प्रदान गरेको थियो । मक टेष्टमा २ सय बढी विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित यस कलेजले शैक्षिक सत्र २०८३ को लागि यही असार २५ गते प्रवेश परीक्षा सञ्चालन गर्दैछ । प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई आकर्षक छात्रवृत्ति दिइने तथा अन्य विद्यार्थीहरुलाई पनि प्रवेश परीक्षाको नतिजा अनुसार भर्ना गर्दा छुटहरु दिइने कलेजले जनाएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त यस कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्तिहरु वितरण गर्ने गर्दछ ।

 

 

सिफारिस