भारत । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयुभी कार सार्वजनिक गरेको छ । टाटाले जुन ३० मा ‘टाटा सियरा’ ईभी कार सार्वजनिक गरेको हो ।
उक्त कारलाई टाटाको ईलेक्ट्रिक कारको यात्रामा बहुप्रतिक्षाका रुपमा हेरिएको थियो । नोस्टाल्जिक नाम र अत्याधुनिक प्रविधिको संगम रहेको दाबी गरिएको यो कारलाई कम्पनीले ग्राहकको रुचि र आवश्यकता अनुरूप विभिन्न ८ वटा भेरियन्टमा उपलब्ध हुने जनाएको छ ।
भारतीय बजारमा यसको सुरुवाती (बेस) भेरियन्टको एक्स-शोरूम मूल्य १८ लाख ७० हजार भारु तोकिएको छ भने सबै आधुनिक सुविधाले सुसज्जित टप भेरियन्टको मूल्य २५ लाख ९९ हजार भारु कायम गरिएको छ । हाल बजारमा उपलब्ध प्रतिस्पर्धी इलेक्ट्रिक एसयूभीको मूल्य, रेन्ज र फिचरलाई हेर्दा सिएरा ईभी निकै आक्रामक र कडा प्रतिस्पर्धीको रूपमा देखा परेको छ ।
दोहोरो ब्याट्री विकल्प र लामो माइलेज:
टाटा मोटर्सले सिएरा ईभीमा ग्राहकको दैनिक प्रयोग र लामो दूरीको यात्रालाई ध्यानमा राख्दै दुईवटा भिन्न क्षमताको ब्याट्री प्याकको विकल्प दिएको छ । दुवै ब्याट्री सुरक्षित एलएफपी प्रविधिमा आधारित रहेका छन् ।
पहिलो विकल्प ६३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक हो, जसले एक पटकको फूल चार्जमा ५८५ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । दोस्रो, लामो यात्राका सौखिनहरूका लागि लक्षित ७५ किलोवाट आवर क्षमताको ठूलो ब्याट्री प्याक हो, जसले ६६५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ । यो रेन्जले काठमाडौंबाट पोखरा पुगेर फर्किंदासम्म चार्ज नगर्दा पनि हुने विकल्प दिने छ ।
१५ मिनेटकै चार्जिङ २६३ किमिको माइलेज:
टाटाको सिएरा ईभीले १२० किलोवाटको डीसी फास्ट चार्जिङ प्रविधिमा चार्जिङ गर्न सक्ने बनाएको छ । टाटाका अनुसार यो गाडी जम्मा २६ मिनेटको छोटो समयमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । हतारको अवस्थामा मात्र १५ मिनेट चार्ज गर्ने हो भने पनि ७५ किलोवाट आवर भेरियन्टले थप २६३ किलोमिटर र ६३ किलोवाट आवर भेरियन्टले थप २०३ किलोमिटरको यात्रा पूरा गर्न सक्नेछ । यो सुविधाले राजमार्गको लामो यात्राका क्रममा चार्जिङ स्टेशनमा बित्ने समयको बचत गर्ने र यात्रालाई निरन्तरता दिने दाबी गरिएको छ ।
५.८ सेकेन्डमै १०० किमि प्रतिघण्टाको रफ्तार:
टाटको सियरा ईभी कार टु ह्वी ड्राइभ र फोर ह्वील ड्राइभ दुबै विकल्पमा उपलब्ध छ । ७५ किलोवाट आवर ब्याट्रीसहितको टप भेरियन्ट क्वाड ह्वील ड्राइभ ड्युअल मोटर (अल ह्वील ड्राइभ) प्रविधिमा बनाइएको छ, जसले चारैवटा पांग्रामा एकैपटक शक्ति प्रवाह गर्छ । तर अन्य भेरियन्टहरू भने रियर ह्वील ड्राइभ (पछाडिको पांग्रामा मात्रै) प्रणालीमा उपलब्ध छन् ।
अल ह्वील ड्राइभ भेरियन्टलाई ‘हाई पर्फर्मेन्स’ मानिन्छ । यसमा पछाडिको मोटरले १७५ किलोवाट र अगाडिको मोटरले १०३ किलोवाट शक्ति दिन्छ । यी दुई मोटरको संयुक्त टर्क उत्पादनको परिणामस्वरूप यो गाडीले मात्र ५.८ सेकेन्डमा शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको रफ्तार समात्न सक्ने टाटाले दाबी गरेको छ । विद्युतीय एसयूभी कारको क्षेत्रमा यो अत्यन्तै प्रभावशाली पर्फमेन्स हुनेछ ।
डिजाइन:
टाटाको सिएरा ईभीको बाहिरी स्वरूप यसको परम्परागत पेट्रोलबाट चल्ने कारकै शैलीमा डिजाइन गरिएको छ, यद्यपि यसमा टाटाको पछिल्लो ईभी स्टाइलिङ भने पाउन सकिन्छ । अगाडिको ग्रिल भाग पूर्ण रूपमा बन्द गरिएको छ भने बाइ-एलईडी अटो प्रोजेक्टेड हेडल्याम्प र कारको पूरै चौडाइमा फैलिएको कनेक्टेड लाइटिङ बारले यसलाई आकर्षक रूप दिएको छ । लुक्सलाई प्रिमियम बनाउन ‘फ्लस डोर ह्याण्डल’ (भित्र लुक्ने ह्यान्डल), बाक्लो क्ल्याडिङ र १८ इन्चको आकर्षक एलो ह्वील राखिएको छ । यात्रा आरामदायी बनाउन पछाडि मल्टि-लिंक सस्पेन्सनको व्यवस्था गरिएको छ ।
भित्री भाग (क्याबिन) भने उत्कृष्ठ डिजाइनका साथ तयार पारिएको छ । ड्यासबोर्डमा ‘होराइजन भ्यू ट्रिपल स्क्रीन सेटअप’ ले यात्रु र चालक दुवैलाई लोभ्याउने कम्पनीको दाबी छ । यसमा दुईवटा १२.३ इन्चको ठूला डिस्प्ले (इन्फोटेनमेन्ट र यात्रुका लागि) तथा एउटा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ ।
मनोरन्जनका लागि डल्बी एट्मस प्रविधिसहित १२ स्पीकर र सबवूफर भएको जेबीएल ब्ल्याक अडियो सिस्टम जडान गरिएको छ । यो कारमा ईभी रूट प्लानर, कारभित्रै भिडियो गेम खेल्न मिल्ने एयरकन्सोल, फाइभजी कनेक्टिभिटी र सिधै कारको स्क्रीनबाट यूपीआई भुक्तानी गर्न मिल्ने ‘ड्राइभ–पे इन्टिग्रेसन’ जस्ता नवीन फिचर जडान गरिएको छ । यी फिचरहरुले टाटाको सियरा ईभी एसयुभी केवल कार मात्रै नभएर एउटा टेक हब रहेको टाटाको दाबी छ ।
दैनिक उपयोगिता र अनुपम चार्जिङ क्षमता:
टाटाले यसलाई दैनिक जीवनको साथीको रूपमा डिजाइन गरिएको जनाएको छ । सामान राख्नका लागि पछाडि ६२२ लिटरको ठूलो बुटस्पेस रहेको छ भने अगाडिको बोनटभित्र ५५ लिटरको अतिरिक्त भण्डारणको सुविधा हुनेछ । पारिवारिक भ्रमण वा पिकनिकमा यो स्पेस निकै उपयोगी सावित हुने कम्पनीले जनाएको छ ।
यसको अर्को बलियो पक्ष भनेको भीटुएल (भेहिकल टु लोड) र भीटुभी (भेहिकल टु भेहिकल) चार्जिङ सुविधा हो । ३.३ किलोवाट क्षमताको भीटुएल प्रविधिले गाडीबाटै ल्यापटप, मोबाइल, इन्डक्सन चुलो वा क्याम्पिङ लाइट जस्ता उपकरण सीधै चलाउन सकिनेछ । साथै ५ किलोवाट क्षमताको भीटुभी सुविधाले बाटोमा अलपत्र परेको अर्को विद्युतीय कारलाई समेत चार्ज प्रदान गर्न सक्नेछ, जसले सिएरा ईभीलाई एक किसिमको मोबाइल पावर बैंककै भूमिका दिइएको छ ।
सुरक्षामा एक कदम अगाडि:
टाटाले यात्रुको सुरक्षालाई सर्वोपरि राख्दै सिएरा ईभीमा ६ वटा एयरब्याग र चारै पांग्रामा अल ह्वील डिस्क ब्रेक राखेको छ । टप भेरियन्टमा लेभल २ प्लस एडास (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) समेत प्रविधि जडान गरिएको छ, जसले गाडीलाई आवश्यकताअनुसार आफैँ नियन्त्रण गर्न सघाउनेछ ।
त्यस्तै अटो पार्क असिस्ट, गाडीको वरिपरिको दृश्य र बोनटमुनिको भाग पनि स्पष्ट देखाउने ५४० डिग्री सराउन्ड भ्यू र ट्रान्सप्यारेन्ट बोनट भ्यू क्यामेरा यो कारमा जडान गरिएको छ । साँघुरो पार्किङमा गाडी बाहिरै बसेर रिमोटको सहायताले कार अगाडि-पछाडि सार्न सकिने ‘समन मोड’ यो कारको अर्को महत्वपूर्ण फिचर हो ।
कहिले आउला नेपाली बजारमा ?
भारतमा सार्वजनिक भएसँगै नेपाली ग्राहकहरूमा सिएरा ईभी कहिले आउँछ भन्ने चासो बढ्न थालेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हालसम्म यसको नेपाल लन्च मिति सार्वजनिक गरिसकेको छैन । यद्यपि पछिल्लो समय टाटाका नेक्सन ईभी, पन्च ईभी र टियागो ईभी जस्ता मोडलहरू भारतमा लन्च भएको सामान्यतः ६ महिनादेखि १ वर्षको अवधिभित्र नेपाली बजारमा आउने गरेका छन् । यही उदाहरणलाई आधार मान्ने हो भने टाटा सिएरा ईभी सन् २०२६ को अन्त्यतिर वा २०२७ को मार्चसम्ममा नेपालमा सार्वजनिक हुने सम्भावना बलियो देखिन्छ ।
तर गाडीको चार्जिङ पूर्वाधार, नेपालको भौगोलिक अवस्था र सरकारी कर नीतिका कारण सियरा ईभीका केही भेरियन्टहरू मात्र नेपालमा उपलब्ध हुन सक्नेछन् । आधिकारिक घोषणाको प्रतीक्षा भने सबैलाई रहने नै छ । परम्परागत ‘सिएरा’ नामको विरासतलाई आधुनिक ईभी प्रविधिसँग जोड्न सफल यो बलियो एसयूभीले भारत र छिमेकी देशहरुमा समेत बेग्लै पहिचान बनाउने अपेक्षा गरिएको छ ।