काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षापछि आएको बाढीका कारण पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा रोकिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा पानीको गुणस्तर बिग्रिएपछि प्रशोधन प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएकाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानीको प्रवाह अस्थायी रूपमा स्थगित गरिएको हो।
उनका अनुसार वर्षाका कारण मुहानमा आएको धमिलो पानी प्रशोधनका लागि उपयुक्त नभएकाले पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सुरु गरिनेछ। त्यसपछि पूर्वनिर्धारित वितरण तालिकाअनुसार काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति पुनः सञ्चालन गरिने जानकारी उनले दिए।
केयुकेएलले निरन्तर वर्षा भइरहेमा पानीको गुणस्तर सामान्य अवस्थामा फर्किन समय लाग्न सक्ने भएकाले काठमाडौंमा नियमित आपूर्ति पुनः सुरु हुन केही ढिलाइ हुन सक्ने जनाएको छ।