बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्ति दिन ५० करोड रुपैयाँ निकासा

दियोपोस्ट संवाददाता  

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरणका लागि पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तरमार्फत उक्त रकम विभागलाई प्रदान गरेको हो। बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति बेहोरेका किसानलाई राहतस्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।

पशुसेवा विभागका प्रवक्ता डा। मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट प्रभावित किसानलाई प्रमाणित क्षतिको आधारमा ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

विभागका अनुसार बर्डफ्लु सङ्क्रमण देखिएका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्लामा करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा तीन लाख किलोग्राम दाना नष्ट गरिएको थियो। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको विभागको अनुमान छ।

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन)-२०७४ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ।

गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा फैलिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पन्छी, अण्डा तथा दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले जानकारी दिए।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा नियन्त्रण तथा रोकथामका प्रयासलाई तीव्र बनाइएको विभागले जनाएको छ।

सिफारिस