एनओसी स्वीकृतिविनै बेलायतको कलेजमा विद्यार्थी पठाउँदै ‘क्लाउड एजुकेशन’, कानुनी कारबाहीको चेतावनी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पोखरास्थित ‘क्लाउड एजुकेशन एन्ड भिसा सर्भिस’ले नेपाल सरकारबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्वीकृत नभएको शैक्षिक संस्थामा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउन लागेको पाइएको छ । क्लाउड एजुकेसनले एनओसी स्वीकृत नभएको बेलायतको लन्डनस्थित ‘युनिभर्सल हाइयर एजुकेशन’ (यूएचई) मा विद्यार्थी पठाउन लागेको खुलेको हो ।

केही दिनअघि मात्र सो कलेजमा अध्ययनका लागि नेपाली विद्यार्थीको भिसा स्वीकृत भएको भन्दै क्लाउड एजुकेशनले केही विद्यार्थीको फोटोसमेत राखेर विज्ञापन गरेको थियो । तर बेलायतको ‘युनिभर्सल हाइयर एजुकेसन’ नाम गरेको कजेजलाई नेपालले एनओसी स्वीकृत नगरेको ‘वैदेशिक अध्ययन अनुमति’(एनओसी) शाखाले जनाएको छ ।

शाखाका प्रमुख उद्धवप्रसाद श्रेष्ठका अनुसार उक्त कलेजलाई अहिलेसम्म  एनओसी शाखाले स्वीकृति दिएको छैन । ‘यो कलेज हाम्रो एनओसी पोर्टलको लिस्टमा छैन । युनिभर्सल हाइयर एजुकेसन’ नाम गरेको कलेज नेपाल सरकारबाट एनओसी स्वीकृत नभएको शैक्षिक संस्था हो,’ उनले भने, ‘यदी क्लाउडले सो कलेजमा नेपाली विद्यार्थी पठाउन लागेको हो भने यो सरासर गैरकानुनी कार्य हो ।’

बेलायतका बिभिन्न ६५५ वटा कलेजलाई नेपालले स्वीकृति दिए पनि युनिभर्सल हाइयर एजुकेशनलाई भने मान्यता नदिइएको उनले प्रष्ट पारे ।

यता, शैक्षिक परामर्श संस्थाहरूले कानुन तथा मापदण्ड पालना गरे नगरेको अनुगमन र निरीक्षण गर्न मान्यता प्राप्त शैक्षिक परामर्श शाखाले समेत बेलायतको उक्त कलेजलाई मान्यता नदिइएको प्रष्ट पारेको छ ।

शाखाका प्रमुख सेमन्त कोइरालाले एनओसी प्राप्त नभएको कलेजमा विद्यार्थी पठाउनै नमिल्ने बताए । ‘विद्यार्थीले आफ्नो ढंगले कलेजमा प्रोसेस गर्न पाउँछन्, तर एनओसी शाखाको लिस्टिङमा नभएको खण्डमा विद्यार्थी जान सक्दैनन् । त्यो गैरकानुनी मानिन्छ,’ उनले भने ।

कुनै कन्सल्टेन्सीले गैरकानुनी ढङ्गले झूटो एनओसी तयार गरी विद्यार्थीलाई वैदेशिक अध्ययनमा पठाएको खण्डमा नेपालको कानुन अनुसार कडा कारबाही हुने उनको भनाई छ ।

उक्त कलेजमा विद्यार्थी पठाउन लागिएपछि ‘भिसा’ तथा ‘भर्ना’ प्रक्रियाबारे गम्भीर प्रश्न उठेको छ । एनओसीविना उक्त शैक्षिक संस्थामा अध्ययन गर्न जाने विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा पर्न सक्ने भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्। अध्ययन अनुमतिविना विद्यार्थी पठाइएमा भविष्यमा डिग्रीको मान्यता, अध्ययनको निरन्तरता तथा अन्य प्रशासनिक समस्याहरू उत्पन्न हुन सक्ने जोखिम रहने उनीहरूले बताए ।

अभिभावकहरूले एनओसी प्रक्रियामा समेत अनियमितता भएको आशंका गरेका छन् । ‘एनओसीविना शुल्क कसरी विदेश पठाइयो, बैंकिङ प्रक्रिया कुन आधारमा पूरा गरियो र सम्पूर्ण प्रक्रिया कानुनी रूपमा सम्पन्न भयो कि भएन?,’ एक अभिभावकले प्रश्न गरे ।

वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी प्राप्त गरेपछि मात्रै बैंकमार्फत ट्युसन शुल्क तथा अन्य दस्तुर विदेश पठाउन पाउने कानुनी व्यवस्था छ ।

तर, एनओसी स्वीकृत नभएको अवस्थामा पनि विद्यार्थीका लागि बैंकबाट लोन लेटर (ऋण पत्र) तयार गरिएको र विदेश पठाउने प्रक्रिया अघि बढाइएको भन्दै सम्बन्धित अधिकारी तथा कन्सल्टेन्सीको भूमिकामाथि निष्पक्ष छानबिनको माग समेत गरिएको छ।

एनओसीविना नै विद्यार्थी विदेश पठाइएको भए त्यो कानुनविपरीत हुने र यसबाट राज्यको राजस्वसमेत प्रभावित हुन सक्ने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् ।

यस विषयमा प्रतिकृया लिन खोज्दा ‘क्लाउड एजुकेशन एन्ड भिसा सर्भिस’का कुनै पनि पदाधिकारीसंग सम्पर्क हुन सकेन ।