काठमाडौँ । सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा उच्च अदालत जनकपुरबाट पाँच वर्ष कैद सजाय पाएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागार चलान गरिएको छ।
महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उपस्थित गराइएको थियो। त्यसपछि अदालतको आदेशअनुसार कैद सजाय भुक्तानका लागि जलेश्वर कारागार पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिए।
दोस्रो मधेश आन्दोलनका क्रममा भएको असई थमन बिक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले यसअघि महतोलाई सफाइ दिएको थियो। तर उच्च अदालत जनकपुरले उक्त फैसला उल्टाउँदै बुधबार उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।