सिरहामा गोली चल्यो, ब्राउनसुगरसहित भारतीय लागूऔषध कारोबारी पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिरहामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भारतको बिहार राज्यस्थित मधुवनी जिल्लाका करिब २४ वर्षीय अब्दुल कलामलाई नियन्त्रणमा लिनका क्रममा प्रहरीले गोली चलाएको हो।

उनको खुट्टामा लागेको प्रहरीले जनाएको छ। नवराजपुर गाउँपालिका-४ क्षेत्रमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेर संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ।

घाइते कलामलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ। प्रहरीले उनको साथबाट प्लास्टिकसहित १२२.८० ग्राम ब्राउनसुगरजस्तो देखिने लागूऔषध बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि केही दिनअघि सिरहा प्रहरीले गोली चलाएर दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो।