काठमाडौं । अवैध गुट्खा तथा अन्य सुर्तीजन्य पदार्थ विदेश लैजान लागेको आरोपमा एक पाकिस्तानी नागरिक त्रिभुवन अन्र्तराष्ट्रिय विमान स्थलबाट पक्राउ परेका छन् । काठमाडौंबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय शाहिद मोहम्वद पक्राउ परेका हुन् ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालप्रहरीका अनुसार असार १८ गते अपराह्न करिब ४ः४५ बजे कतार एयरवेजको उडान नम्बर QR-652 मार्फत पाकिस्तान जान लागेका थिए । अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्यान्ड ब्यागेज चेकिङका क्रममा प्रहरीलाई शंका लागि चेकजाँच गर्ने क्रममा अवैध गुट्खा र सुर्तीजन्य पदार्थ बरामद गरिएको थियो ।
उनको लगेजबाट १ लाख २० हजार मुल्य पर्ने रजनीगन्धाका १,२०० प्याकेट, २२ हजार ७५० मुल्य पर्ने पान परागका ७० प्याकेट, २८ हजार ३५० पर्ने कट्थाका ८१ डब्बा र ३० हजार मुल्य बराबरको ‘100 Mix’ लेखिएको २५ किलोग्राम तौल बराबरका पाँच पोका र ३९ खुल्ला प्याकेट बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको सुर्तीजन्य पदार्थ तथा अन्य सामग्रीको कुल अनुमानित मूल्य रु. २ लाख १ हजार १ सय रहेको छ।
प्रहरीले ती सामग्री लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारेपछि सम्बन्धित पाकिस्तानी नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि Tribhuvan Airport Customs Office मा बुझाएको जनाएको छ।