ब्राजिललाई हराउँदै नर्वे पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नर्वेले ब्राजिललाई २-१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

राउण्ड अफ १६ अन्तर्गत आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले पाँच पटकको विश्वविजेता ब्राजिललाई हराउँदै नायक बने। उनले दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। हालान्डले ८०औँ मिनेटमा हेडमार्फत पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। त्यसपछि निर्धारित समयको अन्त्यतिर उनले अर्को उत्कृष्ट गोल थप्दै नर्वेको अग्रता दोब्बर बनाए।

खेलको इन्जुरी समयमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो, जसलाई नेयमारले गोलमा परिणत गरे। तर त्यसपछि थप गोल हुन नसक्दा ब्राजिल २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।

यो जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। प्रतियोगितामा उत्कृष्ट लयमा रहेका हालान्डको यो प्रदर्शनले नर्वेलाई उपाधि दाबेदार टोलीका रूपमा समेत स्थापित गरेको छ।

अब नर्वेले क्वाटरफाइनलमा आयोजक मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। ब्राजिल भने लगातार अर्को विश्वकपमा पनि प्रारम्भिक नकआउट चरणबाटै बाहिरिन बाध्य भएको छ।

सिफारिस