काठमाडौं। नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरले आयोजना गरेको ‘युवा उद्यमशीलता विकास सम्बन्धी अन्तरक्रिया तथा नयाँ सदस्य स्वागत’ कार्यक्रममा युवामा लगानी, नवप्रवर्तन र उद्यमशीलताको विकासमार्फत मुलुकको अर्थतन्त्र सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा सहभागी व्यवसायी नेता तथा युवा उद्यमीहरूले आर्थिक पुनरुत्थान, लगानी विस्तार, रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्द्धनका विषयमा छलफल गर्दै आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारमा युवाको भूमिका निर्णायक हुने बताएका हुन् ।
उनीहरूले उद्यमशीलतामार्फत मुलुकको आर्थिक विकासलाई गति दिन सकिने उल्लेख गरे। कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाले सकारात्मक सोच, समन्वय र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए।
विश्वव्यापी रूपमा हरित अर्थतन्त्रको अवधारणाले तीव्रता पाइरहेको उल्लेख गर्दै उनले भविष्यको नेतृत्व गर्न सक्षम र प्रतिस्पर्धी युवाशक्ति निर्माण गर्नु आजको आवश्यकता भएको बताए। उनले अन्तर्राष्ट्रिय सञ्जाल विस्तार, लगानी आकर्षण र रोजगारी सिर्जनामा युवाले अग्रसर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष अग्रवालले युवामा गरिएको लगानीले दीर्घकालीन रूपमा मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती मूल समारोह समितिका संयोजक तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नवीन सोच र नयाँ व्यवसायिक क्षेत्रको पहिचान गर्दै युवाले उद्यमशीलतामा अघि बढ्नुपर्ने बताए। विदेशस्थित युथ चेम्बरसँग सम्बन्ध विस्तार गरी प्रविधि, ज्ञान र व्यावसायिक अनुभव आदानप्रदान गर्न सके व्यापार विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो। नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्रको पहिलो संस्था भएकाले यसको ७५ वर्षे गौरवपूर्ण यात्रासँग जोडिनु गर्वको विषय भएको उनले उल्लेख गरे। व्यापारमा जोखिम भए पनि त्यसले रोजगारी, उत्पादन र समग्र अर्थतन्त्रमा पुर्याउने योगदान महत्वपूर्ण रहने उनको भनाइ थियो।
नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले मुलुकका सम्भावनायुक्त नयाँ क्षेत्रहरूको पहिचान गर्दै युवाले अर्थतन्त्रमा नवीनता भित्र्याउन सक्ने बताए। नवप्रवर्तनसम्बन्धी नीतिगत अवसरहरूको अधिकतम उपयोग गर्दै सिर्जनशील सोचका साथ उद्यममा अघि बढ्न उनले युवाहरूलाई आग्रह गरे।
नेपाल युथ चेम्बरका अध्यक्ष दिपेश रत्न तुलाधरले सफल उद्यमको यात्रा सशक्त विचार, सक्षम टोली र जिम्मेवार नेतृत्वबाट सुरु हुने बताए। युवाका विचार, ऊर्जा, लगाव र दूरदृष्टिलाई समाजले विश्वास र सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनले युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नेटवर्क विस्तार तथा व्यावसायिक अवसर सिर्जनाका लागि नेपाल युथ चेम्बर निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल युथ चेम्बरका उपाध्यक्ष कश्यप शाक्य, महासचिव नेहा श्रेष्ठ अमात्य र कोषाध्यक्ष स्कन्द अमात्यलगायतले पनि आफ्नो धारणा राखेका थिए। सहभागी युवा उद्यमीहरूले मुलुकमा देखिएको आर्थिक मन्दी, तरलता अभाव, लगानी संकुचन, स्टार्टअप प्रवर्द्धन, सहुलियतपूर्ण कर्जा, व्यवसायमैत्री वातावरण तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धिका विषय उठाउँदै उद्यमशीलता प्रवर्द्धनका लागि स्पष्ट सरकारी नीति, सहज वित्तीय पहुँच र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा युवा उद्यमी, उद्योगी, व्यवसायी तथा नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

