मधेशका अधिकार, पहिचान र भविष्यबारे सर्लाहीमा वृहत् अन्तरक्रिया, पाँच सयभन्दा बढीको सहभागिता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मधेश मुक्ति अभियानको आयोजनामा सर्लाहीको कौडेना गाउँपालिकामा मधेशका अधिकार, पहिचान र भविष्यका विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। २०८३ असार २० गते आयोजित कार्यक्रममा अपेक्षाभन्दा उल्लेखनीय जनसहभागिता देखिएको आयोजकले जनाएको छ।

अमित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर.पी. सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए। प्रारम्भिक रूपमा करिब १०० जनाको सहभागिता रहने अनुमान गरिए पनि कार्यक्रममा ५०० भन्दा बढी नागरिकको उपस्थिति रहेको आयोजकको दाबी छ।

सहभागीको संख्या अपेक्षाभन्दा धेरै भएपछि केही समय व्यवस्थापनमा चुनौती देखिए पनि कार्यक्रम निर्धारित कार्यसूचीअनुसार सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

अन्तरक्रियामा सहभागीहरूले मधेशसँग सम्बन्धित समसामयिक राजनीतिक, सामाजिक तथा राष्ट्रिय विषयमा खुला छलफल गरेका थिए। विशेषगरी मधेशको अधिकार, पहिचान, आत्मनिर्णय तथा भविष्यका विषयमा विभिन्न धारणा प्रस्तुत गर्दै सहभागीहरूले रचनात्मक बहस गरेका थिए।

आश्विनी कुमार मधेसीको संयोजनमा सञ्चालन भइरहेको मधेश मुक्ति अभियानले मधेशका मुद्दालाई संगठित रूपमा अघि बढाउने उद्देश्य लिएको जनाएको छ। कार्यक्रमप्रति स्थानीयवासीको उत्साहजनक सहभागिताले अभियानप्रति जनचासो र समर्थन बढ्दै गएको संकेत गरेको आयोजकको भनाइ छ।

कार्यक्रमपछि अभियानका प्रवक्ता भागिरथ जीले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सहभागी, स्थानीयवासी तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।

सिफारिस