पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध साढे तीन करोड रुपैयाँ भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गुप्ताविरुद्ध विशेष अदालत, काठमाडौंमा तीन करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार गुप्ता २०७४ असार २० गते गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई अनुसन्धानको आधार बनाइएको थियो।

अनुसन्धानका क्रममा गुप्ता तथा उनको एकाघर परिवारको सार्वजनिक सेवामा प्रवेशअघि रहेको बैंक तथा वित्तीय संस्थाको मौज्दात, पारिश्रमिकबाट भएको बचत, ऋण, कृषि आयलगायत विभिन्न स्रोतबाट प्राप्त कुल वैध आम्दानी तीन करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ रहेको देखिएको आयोगले जनाएको छ।

त्यही अवधिमा अध्ययन, घर निर्माण तथा खरिद, बीमा प्रिमियम भुक्तानी, कम्पनीमा लगानीलगायत शीर्षकमा कुल छ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ खर्च भएको पाइएको छ।

आयोगका अनुसार आयका विभिन्न स्रोतबाट प्राप्त आम्दानी र प्रमाणित खर्चको विश्लेषण गर्दा तीन करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँको स्रोत खुल्न नसकेको निष्कर्ष निकालिएको छ।

यस मुद्दामा गुप्तासँगै उनका बुवा वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि प्रतिवादी बनाइएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार तीन करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ बिगो कायम गरी सोहीअनुसार सजायको मागदाबी गर्दै आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।